मुम्बई ।
अभिनेता शाहरुख खानले फिल्म ‘पठान’मार्फत आफू बलिउडको ‘किङ’ हो भन्ने कुराको पुष्टि गरेका छन् । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्मले अर्का अभिनेता प्रभासको फिल्म ‘बाहुबली २’को रेकर्ड तोडिदिएका छन् । यो कुराको जानकारी ‘पठान’का निर्देशक सिद्धार्थ आनन्दले ट्वीटमार्फत दिएका छन् ।
‘पठानले बाहुबली-२ को हिन्दी संस्करणको लाइफ टाइम कलेक्सन तोडेको छ । मेरो लागि यो गर्वको अवस्था हो । एक पटक पुनः दर्शकलाई दिन चाहन्छु, जसले यति धेरै माया दिए’, उनले ट्वीटेका छन् ।
प्रभास, राणा दग्गुबाती, अनुष्का शेट्टी र राम्या कृष्णनन स्टारर फिल्म ‘बाहुबली-२’को हिन्दी भर्सनले बक्स अफिसमा करिब ५ सय ११ करोड कमाई गरेको थियो । ‘पठान’ले रिलिजको ३८ औँ दिनमा बक्स अफिसमा ७० लाख रुपैयाँ कमाएको थियो ।
व्यापार विश्लेषक तरण आदर्शका अनुसार पठानले हालसम्म बक्स अफिसमा ५ सय १० दशमलव ६५ करोड रुपैयाँ कमाइसकेको छ । निर्देशक सिद्धार्थले भने फिल्मले ५ सय ११ करोड रुपैयाँको आँकडा पार गरिसकेको दाबी गरेका छन् ।
प्रतिक्रिया