बुएनस आयर्स ।
सशस्त्र समूहले अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसीलाई आक्रमणको धम्की दिएको छ । साथै उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् ।
मेसीकी श्रीमती एन्तोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको तेस्रो ठूलो शहर रोजारियोकोस्थित उनिको सुपरमार्केटमा बिहीबार एक दर्जन गोली प्रहार गरिएको थियो। आक्रमणकारीले छाडेको लिखित सन्देशमा मेसीलाई आक्रमणको धम्की दिइएको छ । बुनस आयर्सबाट तीन सय किलोमिटर उत्तरपश्चिममा रोजारियो शहर अवस्थित छ ।
मेसीको ससुरालीको पसल बाहिर टाँसिएको सन्देशमा ‘मेसी१ हामी तिमीलाई पर्खिरहेका छौँ, जाभकिन पनि लागुऔषध तस्कर हो । त्यसले तिम्रो ख्याल गर्दैन’ भनिएको छ ।
रोजारियोका शहरका प्रमुख पाब्लो जाभकिनले आक्रमण गरिएको पसलको अवलोकन गरेर लागुऔषध सम्बन्धी हिंसा रोक्न असफल भएको भन्दै संघीय अधिकारीहरूको आलोचना गरेका छन् ।
मेसीलाई धेरै अर्जेन्टिनीले महान् फुटबल खेलाडीका रूपमा सम्मान गर्छन् । छत्तीस वर्षपछि उनको नेतृत्वमा अर्जेन्टिनी राष्ट्रिय टोलीले गत डिसेम्बरमा विश्वकप प्रतियोगिता जितेपछि उनीप्रतिको सम्मान अझ बढेको छ ।
मेसी हाल पेरिस सेन्ट(जर्मेनबाट खेलिरहेका छन् । धेरै समय उनी विदेशमै बिताउँछन्। यद्यपि उनी रोजारियो पनि जाने गर्छन् । फ्युनेसको उपनगरमा उनको घर छ। फ्रान्सेली टोलीले बिहीबार बिहान मेसीको प्रशिक्षणको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको थियो ।
रोजारियोका अभियोजक फेडेरिको रेबोलाले सुरक्षा क्यामेरा फुटेजको समीक्षा सुरक्षा अधिकारीले गरिरहेको र प्रारम्भिक अनुसन्धान प्रारम्भ भएको बताएका छन्। मेसीका ससुरालीले पनि यो प्रकारको धम्की पहिलोपटक पाएको बताएका छन् ।
सान्ता फे प्रान्तका न्यायमन्त्री सेलिया एरेनाले समाजमा आतङ्क मच्चाउन माफिया समूहले उक्त आक्रमण गरेको बताएकी छन् । उनले यो आक्रमणको उद्देश्य आपराधिक हिंसाविरुद्ध लडिरहेकाहरूलाई निरुत्साहित गर्न भएको सामाजिक सञ्जालमा लेखेकी छन् ।
प्रतिक्रिया