कामठाडौँ ।
अस्ट्रेलियाको मुख्य आयआर्जन गर्ने स्रोत शिक्षा हो। विदेशी विद्यार्थीलाई सहज भिसाको व्यवस्था र पोस्ट स्टडी वर्कको व्यवस्थाले अस्ट्रेलिया नेपाली विद्यार्थीको पहिलो रोजाइ बनेको शैक्षिक परामर्श संघ नेपालका पूर्वअध्यक्ष एवं रोयल एजुकेसन फाउन्डेसनका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले जनाए।
अन्य देशमा जस्तो अस्ट्रेलियामा विद्यार्थीले भिसाका लागि तनाव लिनुपर्ने अवस्था छैन। अस्ट्रेलियन सरकारले तोकेको मापदण्डअनुसार कागजात सही छ भने भिसा सहजै दिन्छ। विद्यार्थीले अन्तर्वार्ता दिनुपर्दैन।
‘विद्यार्थीको शैक्षिक प्रमाणपत्र सही छ र उसको आर्थिक हैसियत बलियो छ भने त्यो विद्यार्थीले अस्ट्रेलियाका लागि भिसा सहजै पाउँछ,’ निर्देशक पाण्डेले भने, ‘अन्य देशभन्दा विद्यार्थीका लागि सुरक्षित स्थान र सर्वसुलभ शुल्कले पनि अस्ट्रेलिया विद्यार्थीको आकर्षण बन्दै गएको छ।’ उनले थपे, ‘विद्यार्थीले स्नातक र स्नातकोत्तर तह पास परेपछि दुई वर्ष, अनुसन्धान पास गरेपछि तीन वर्ष र विद्यावारिधि पूरा गरेपछि चार वर्षको पोस्ट स्टडी वर्क परमिट पाउने व्यवस्थाले विद्यार्थी आकर्षण अस्ट्रेलियामा बढेको हो।’
पुतलीसडकमा रहेको राइटपाथ करिअर काउन्सेलिङका अध्यक्ष फिलिप डिसीले सिम्लिफाइड स्टुडेन्ट भिसा फ्रिवर्क नीतिले पनि विद्यार्थीलाई भिसा सहज बनाएको जनाए। ‘प्रमुख सहरभन्दा ग्रामीण क्षेत्रतिर विद्यार्थीले अध्ययन गर्न गए बढी अंक पाउँछन्,’ डिसीले नागरिकसँग भने, ‘यसले विद्यार्थीलाई पिआर पाउन सहज बनाउँछ।’ उनले थपे, ‘स्नातकोत्तर तह अध्ययन गर्न जान चाहने विद्यार्थीले डिपेन्डेन्टमा लान पाउँछन्। यसले गर्दा कमाउन जानेले पूर्णकालीन काम गर्ने र पढ्नेले पढ्न पाउँछन्।’
विद्यार्थीका लागि अस्ट्रेलिया सही शैक्षिक गन्तव्य
अर्बिट इन्टरनेसनल एजुकेसनका शेषराज भट्टराईले अष्ट्रेलियाका लागि उच्च शिक्षामा विद्यार्थी भित्र्याउने नेपाल एक मुख्य देश बनेको बताए। उनले उपलब्ध गराएको तथ्यांकअनुसार अस्ट्रेलियामा हाल विश्वका विभिन्न देशका ७ लाख विद्यार्थी अध्ययन गरिरहेका छन्।
‘अस्ट्रेलियामा संघीय राज्यअनुसार शिक्षा प्रणालीको व्यवस्था छ,’ भट्टराई भन्छन्, ‘सबै प्रकारका विद्यार्थी अट्ने भएकाले अस्ट्रेलिया हाल उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि रुचीको गन्तव्य बन्दै गइरहेको छ।’ उनले थपे, ‘विद्यार्थीको पढाइ सकिनासाथ वर्क पर्मिट पाउने व्यवस्थाले यस वर्ष धेरै विद्यार्थीले अस्ट्रेलियाका लागि नो अबजेक्सन लेटर लिएको बुझिन्छ। २ लाख नेपाली अस्ट्रेलियामा बसोबास गर्ने भएकाले पनि नेपालीहरूका लागि सहजै घुलमिल हुने वातावरण बन्छ।’
पढाइ र कामको समन्वय
अस्ट्रेलियाले व्यावहारिक तथा व्यावसायिक शिक्षा अवलम्बन गरेको छ। एक हजारभन्दा बढी शैक्षिक संस्थाले २२ हजार बढी कोर्सहरू पठनपाठन गराइरहेको पनि नेपाली विद्यार्थीका लागि अस्ट्रेलिया सुरक्षित र भरपर्दो शैक्षिक गन्तव्य बनेको हब इन्टरनेसनलका प्रमुख उद्धव खड्का बताउँछन्। कुनै पनि विषयमा सैद्धान्तिक साथै व्यावहारिक ज्ञानमा समेत अस्ट्रेलियन शिक्षाले जोड दिएकाले विद्यार्थीहरू अध्ययन गरेको विषयवस्तु सहजै व्यवहारमा उतार्न सक्ने खड्का बताउँछन्। ‘स्नातक र मास्टरपछि विद्यार्थीले सम्बन्धित विषयको फिल्डमा २ वर्ष, अनुसन्धानका विद्यार्थीले ३ वर्ष र विद्यावारिधिपछि विद्यार्थीले ४ वर्ष पोस्ट स्टडी वर्क गर्नुपर्छ,’ खड्का भन्छन्, ‘त्यसपछि विद्यार्थीले आफ्नो शैक्षिक लगानी उठाउन सक्छन्।’
अस्ट्रेलियाको राष्ट्रिय भाषा अंग्रेजी हो। त्यहाँ विश्वमा उपलब्ध अंग्रेजी शैक्षिक सामग्री यथोचित रूपमा पाउने भएकाले विद्यार्थीले पढ्ने मात्र होइन, अंग्रेजी सुधार्नसमेत सक्छन् ।
विश्वका उत्कृष्ट सयमध्ये ७ वटा विश्वविद्यालय अस्ट्रेलियामै छन्। अस्ट्रेलियन नेसनल विश्वविद्यालय, युनिभर्सिटी अफ मेलबन, युनिभर्सिटी अफ सिड्नी, द युनिभर्सिटी अफ एनएसडब्लु, द युनिभर्सिटी अफ क्विन्सल्यान्ड, मोनास युनिभर्सिटी, द युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलिया रहेका छन्। अस्ट्रेलियामा कुल ४३ विश्वविद्यालयमा ४० वटा सरकारी, २ वटा अन्तर्राष्ट्रिय र एक मात्र निजी छन् ।
विश्व बजारमा बिक्न सक्ने डिग्री हासिल गर्न पछिल्ला केही वर्षयता अस्ट्रेलिया अध्ययनका लागि नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीहरू बढेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको समाचार आजको नागरिक दैनिकले लेखेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका नो अबजेक्सन लेटर (एनओसी) महाशाखाका अनुसार विगत १३ वर्षमा २०६५ सालदेखि २०७७ आर्थिक वर्षभित्र कुल चार लाख १६ हजार ३ सय ६४ विद्यार्थीले कुल एक सय तीन देशमा उच्च शिक्षा अध्ययनका लागि मन्त्रालयबाट एनओसी लिएका छन्। अवसर र स्तरीय शिक्षा हासिल गर्न पाइने भएकाले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको आकर्षण अस्ट्रेलियामा बढ्दै गएको देखिन्छ।
विदेशमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरू सबैभन्दा बढी २०७५-७६ को अन्त्यमा एनओसी लिएको देखिन्छ। यो वर्ष कुल ५३ हजार २ सय ५९ विद्यार्थीले एनओसी लिएका छन्। आर्थिक वर्ष २०७६-७७ मा कुल ३४ हजार ९४ ले एनओसी लिएको शिक्षा मन्त्रालयको तथ्यांक छ।
यसैगरी आर्थिक वर्ष २०७७-७८ मा कुल २७ हजार ९ सय ७८ ले मन्त्रालयबाट एनओसी लिएको तथ्यांक छ। विदेसिने विद्यार्थीहरू विशेषगरी मेडिकल, व्यवस्थापन, कम्प्युटर साइन्स, हस्पिटालिटी र विज्ञान तथा प्रविधि विषय अध्ययन गर्न जाने गरेको मन्त्रालयको तथ्यांकले देखाएको छ।
एनओसी शाखा प्रमुख वासुदेव वस्तीका अनुसार नेपालमा उच्च शिक्षा हासिल गरेर अवसर पाउन नसक्नु नै विद्यार्थी विदेसिनुको मुख्य कारण हो। उनले २०७९ साउनदेखि पुस मसान्तभित्र कुल ४५ हजार ९ सय १२ ले ५९ देशका लागि एनओसी लिएको जनाए।
सन् २०१५ जनवरी १ तारिखदेखि २०२१ सेप्टेम्बर २१ सम्मको तथ्यांक हेर्ने हो भने यो अवधिमा सबैभन्दा बढी अस्ट्रेलिया अध्ययनपका लागि विद्यार्थीले एनओसी लिएका छन्। यो अवधिमा कुल एक लाख २६ हजार ८ सय २१ विद्यार्थीले एनओसी लिएका छन्। यसपछि अस्ट्रेलिया विद्यार्थीको रोजाइमा पहिलो नम्बरमै छ।
प्रमुख वस्तीका अनुसार हाल विद्यार्थीको उच्च रोजाइमा पर्ने देशहरू अस्ट्रेलिया, जापान, अमेरिका, क्यानडा, बेलायत, कोरिया हुन्। सबैभन्दा बढी अस्ट्रेलिया जाने गरेका छन्। गत साउनदेखि पुस अन्तिमसम्ममा कुल ४५ हजार ९ सय १२ ले एनओसी लिएका छन्। अस्ट्रेलियाको संख्या सबैभन्दा बढी छ। यो देशका लागि कुल १५ हजार एक सय तीनले एनओसी लिएको प्रमुख वस्तीले जनाए।
‘विदेशी शैक्षिक संस्थाको कोर्स सिपमूलक र छोटो अवधिको हुन्छ। तर क्रेडिट आवर पुगेकै हुन्छ,’ वस्ती भन्छन्, ‘अब नेपाली शैक्षिक संस्थाहरूले पनि आफ्नो कोर्सबारे विश्लेषण गर्नुपर्छ । यहाँ पनि काम गर्दै पढ्ने सहरमुखी शिक्षाको व्यवस्था हुनुपर्छ।’ उनका अनुसार नेपाली विद्यार्थीहरू अस्ट्रेलियामा आइटी, नर्सिङ, मेडिकल, होटल व्यवस्थापन, इन्जिनियरिङ, कम्प्युटर साइन्स, भाषालगायतका विषयमा अध्ययन गर्नका लागि एनओसी लिने गरेका छन्।
प्रतिक्रिया