काठमाडौँ । नेकपा एमालेको जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको आवाज बढेपछि उठेका प्रश्नको आज अध्यक्षले दिने भएका छन् । शनिबारको बैठकमा सहभागी अधिकांश सचिवालय सदस्यले अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेपछि उनी आक्रोशित बनेका थिए । त्यस क्रममा ओलीले भने, ‘म नेतृत्व छाड्दिनँ ।”
बैठकको माहोल आफ्नो विपक्षमा देखिएपछि ओलीले असन्तुष्ट नेताहरूलाई लक्षित गर्दै भने, ‘मलाई नसम्झाउनुस्, तपाईंहरूले सम्झाउनुपर्दैन । म नेतृत्व छाड्दिनँ । पार्टीलाई अफ्ठ्यारो पार्ने काम कसैले पनि नगर्नुहोस्, त्यसैले अहिले नेतृत्व बदल्ने कुरा नगर्नुहोस् ।’
सचिवालयमा अल्पमतमा परेका ओलीले थप जवाफका लागि भोलिका लागि पर्खिएका छन् । उनले भने, ‘मेरो कुरा भोलि भन्छु ।’ पार्टीभित्र बढ्दो असन्तुष्टिबिच महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराईसहित नेताहरू खुलेरै अध्यक्षको विकल्प खोज्नुपर्ने पक्षमा उभिएका छन् ।
शुक्रबार पहिलो दिनको बैठकमा ५ मध्ये ४ उपाध्यक्षले ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए । अब शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले आ–आफ्नो धारणा राख्ने क्रम बाँकी छ । आइतबारको बैठकमा बाँकी चार सचिवले आफ्नो धारणा राखेपछि ओलीले जवाफ दिएर बैठक सक्ने तयारी छ ।

प्रतिक्रिया