पल्सर स्पोर्टस अबार्ड बर्ष खेलाडी मनोयनमा परेका खेलाडी सार्बजनिक, को-को परे ? 

पल्सर स्पोर्टस अबार्ड बर्ष खेलाडी मनोयनमा परेका खेलाडी सार्बजनिक, को-को परे ? 


कामठाडौँ ।

पल्सर स्पोर्ट्स अवार्डको १९औं संस्करणको चार विधाका मनोनयन सार्वजनिक गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) ले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै कुल ९ विधामध्ये वर्ष २०७८ को वर्ष पुरुष, महिला, युवा र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो ।

वर्ष पुरुषमा क्रिकेटका कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, फुटबलका किरण चेम्जोङ, अन्जन विष्ट र ब्याडमिन्टनका प्रिन्स दाहाल छन् । वर्ष महिलामा क्रिकेटकी रुविना क्षेत्री, सीता रानामगर, भलिबलकी अरुणा शाही, बक्सिङकी पुनम रावल, एथ्लेटिक्सकी पुष्पा भण्डारी मनोनयन परेका छन् ।

मन्चका सचिव अन्जन खड्काको नेतृत्वमा रहेको पाँच सदस्यीय खेलाडी छनोट समितिले २०७८ मा उत्कृष्ट नतिजा दिलाएका खेलाडी र प्रशिक्षक छनोट गरेका हुन् ।

त्यस्तै वर्ष युवा खेलाडीमा फुटबलका मनिष डाँगी, प्रीति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन र भलिबलकी उषा भण्डारी छन् ।

प्रशिक्षकमा बक्सिङका दीपक महर्जन, फुटबलका अब्दुल्ला अल्मुताइरी, पारा तेक्वान्दोका कविराज नेगी लामा, क्रिकेटका डेभ ह्वाटमोर र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका छन् ।

अवार्ड आगामी फागुन २३ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठनमा हुँदैछ । यस वर्ष ९ विधामा अवार्ड प्रदान गरिनेछ भने जसमा पिपल्स च्वाइस विधाको मनोनयन पनि सार्वजनिक भैसकेको छ । यसअन्तर्गत फुटबलका अन्जन विष्ट, क्रिकेटका आसिफ सेख, भलिबलकी उषा भण्डारी, पौडी डुवाना लामा र टेनिसकी अभिलाषा विष्ट मनोनयनमा परेका छन् ।

यसबाहेक अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्स जर्नालिस्ट अवार्डको विजेता भने फागुन २३ गते सार्वजनिक गरिनेछ ।

वर्ष पुरुष, महिला, युवा, पिपुल्स च्वाइस र प्रशिक्षक गरी पाँच विधाका विजेताहरूले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेताहरूले नगद पुरस्कार प्राप्त गर्नेछन् । मनोनयनमा परेका खेलाडीलाई फागुन २१ गते राति १२ बजेसम्म मतदान गर्न सकिनेछ ।