‘होली फेस्टिभल एडिलेड’ हुँदै, महानायक राजेश हमालदेखि राजेश पायल राईको सहभागिता रहने

‘होली फेस्टिभल एडिलेड’ हुँदै, महानायक राजेश हमालदेखि राजेश पायल राईको सहभागिता रहने


मेलबर्न अष्ट्रेलिया ।

रंगहरुको पर्व होलीको अवसरमा एडिलेड नेपालको आयोजनामा ‘होली फेस्टिभल एडिलेड’ हुने भएको छ । । प्रवासमा रहेर पनि नेपाली कला र संस्कृतिहरूको जगेर्ना गर्दै नेपालमा रहँदा बस्दाकै झझल्को दिलाउने उद्देश्यले मार्च ५ गते मिचेल पार्क ओभलमा ‘होली फेस्टिभल एडिलेड’ को आयोजना गरेको हो । कार्यक्रम मार्च ५ तारिख आइतबार दिउँसो १ बजेबाट सुरु भएर साँझ ८ बजेसम्म चल्ने एडिलेड नेपालका अध्यक्ष पुस्कर कोईरालाले जानकारी दिए ।

नेपाली रीतिरिवाज र परम्परालाई कायम राख्दै नयाँ पुस्ताहरुबीचमा पनि उजागर गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको अध्यक्ष कोईरालाको भनाइ छ । एक-आपसमा रंग लगाएर एक दिन भएपनि आफ्ना समस्या तथा तनावहरूलाई बिर्सेर एक आपसमा खुसी साटासाट गरी मनाउन कार्यक्रममा उपस्थितिका लागी उनले एडिलेडवासी नेपालीलाई आग्रह गरेका छन् । 

कार्यक्रममा सांगतिक तथा साँस्कृतिक प्रस्तुति, व्यवसायिक स्टल साथमा विभिन्न खानाका परिकारहरूका साथै कार्यक्रम पूर्ण रूपमा प्रवेश निःशुल्क रहेको उनले जानकारी दिए । ‘होली फेस्टिभल एडिलेड’ थप मनोरञ्जनात्मक बनाउन राजेश पायल राई, सुदिन पोखरेल, विक्रम बराल, निहारिका ज्ञवाली, सुण्डी दोर्जे लामा, सानु लामा, आर्ट फर आर्ट सेक व्याण्ड, रुक्ष व्याण्ड, डजे भाईचुङ र एडिलेडमा रहेका अन्य नेपाली कलाकारहरूले सांगीतिक प्रस्तुति दिने अध्यक्ष कोईरालाले जानकारी दिएका छन् । 

अस्सीज ग्रुप एडिलेड टाइटल स्पोन्सर रहेको उक्त कार्यक्रमको मुख्य आकर्षणका रूपमा महानायक राजेश रहेका छन् । यसअघि २०१८, २०१९ र २०२० मा भव्यताका साथ सम्पन्न गरिसकेको ‘होली फेस्टिभल एडिलेड’ को यो चौथो संस्करण हो । सन् २०१६ मा स्थापना भएको एडिलेड नेपालले साउथ अष्ट्रेलियामा रहेका नेपाली समुदाय माझ विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ ।