गरिब देशलाई थप ५० करोड डोज फाइजर खोप दिने अमेरिकाको घोषणा

गरिब देशलाई थप ५० करोड डोज फाइजर खोप दिने अमेरिकाको घोषणा


काठमाडौं, ७ असोज । अमेरिकाले विकासशील देशहरुलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप थप ५० करोड डोज दिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी वर्षभित्र उक्त खोपको मात्रा प्रदान गर्ने घोषणा गर्नुभएको हो । संयुक्त राष्ट्रसंघको महासभाका क्रममा कोभिड–१९ सम्बन्धि साइडलाइन सम्मेलनलाई सम्बोधन गर्दै उहाँले खोपको पहुँच विस्तारका लागि सहयोग दिनने घोषणा गर्नुभएको हो ।

अमेरिकाले यसअघि गरीब देशहरुलाई १६ करोड डोज खोप दिईसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यो वर्षको अन्त्यसम्ममा विश्वका सबै देशमा कम्तीमा ४० प्रतिशत मानिसलाई खोप लगाउने लक्ष्य राखेकोमा उक्त लक्ष्य पूरा हुने सम्भावना क्षीण देखिएको छ । गरीब देशहरुमा अहिलेसम्म दुई प्रतिशत जनसंख्यालाई मात्रै खोपको पहिलो डोज लगाइएको छ । खोपमा सबैको पहुँच समतामूलक होस् भन्ने उद्देश्यसहित डब्लुएचओको अगुवाइमा स्थापना भएको कोभ्याक्स अभियानअन्तर्गत अनुदान वा सहयोगमा आउने खोपको वितरण हुने गर्दछ ।