होबार्ट तास्मानिया । रंगहरुको पर्व होलीको अवसरमा नेपाली सोसाइटी अफ तास्मानियाले ‘होली रे २०७९’ कार्यक्रमको आयोजना गर्ने भएको छ । सोसाइटीले मार्च ४ तारिख शनिबार टोलोसा पार्क ग्लेनोर्चीमा उक्त कार्यक्रमको आयोजना गरेको हो।
तस्मानियामा रहेका नेपालीहरुलाई सो कार्यक्रममा सहभागीताका लागि सोसाइटीले आग्रह गरेको छ। कार्यक्रममा डिजे बिक्कीले नचाउने छन् भने त्रिजन र सनिसले तस्बिर खिच्नेछन् । कार्यक्रममा आउनेलाई प्रवेश शुल्क नरहेको सोसाइटीले जनाएको छ। कार्यक्रम दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ ।
विभिन्न रङ, अबिर र लोला खेलेर होली मनाउने परम्परा छ । आपसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृतिक र सामाजिक महत्त्व छ । होली पर्वलाई मेलमिलाप र सद्भावको पर्वको रूपमा पनि लिइन्छ ।
होली पर्व असत्यमाथि सत्यको विजय उत्सवको रूपमा रङ दलेर मनाउने गरिएको धार्मिक मान्यता छ । आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्धार भएको धार्मिक कथनसँग जोडेर पनि यो पर्व मनाउने गरिएको छ ।
प्रतिक्रिया