कामठाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास लिएकी छन् ।
ग्याल्पो ल्होसार, २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले ‘ग्याल्पो ल्होसार पर्वले सबैलाई एकताबद्ध भएर आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समुन्नत मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस्’ भनी कामना गरिन् ।
‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो, शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु’, सन्देशमा भनिएको छ ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको वर्तमान सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री दाहालले नेपालीहरूको राष्ट्रिय पर्व ग्याल्बो ल्होसारको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका शेर्पा समुदायलगायत आम नेपाली जनसमुदायमा सुख, शान्ति, राष्ट्रिय एकता, सहकार्य एवं समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै विविधतामा एकतासहित सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको पहिचान र अधिकारलाई संरक्षण र प्रवर्द्धन गरेर मात्र राष्ट्रिय एकता सुदृढ गर्न सकिनेसमेत बताए।
उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण विश्वकै एक स्वाधीन र सुन्दर मुलुक रहेको र देशभित्रका सबै भाषा, कला, संस्कृति, सभ्यता र ऐतिहासिकता हाम्रा साझा राष्ट्रिय सम्पत्ति भएको उल्लेख गर्दै तिनीहरूको रक्षा र प्रवर्द्धन गर्नु हामी सबैको साझा जिम्मेवारीसमेत रहेको बताएका छन्।
‘ग्याल्बो ल्होसार नेपालका विभिन्न भूभागमा बसोबास गर्ने शेर्पा समुदायको नयाँ वर्ष हो। ऐतिहासिक र प्रेरणादायी दिन हो। विभिन्न मिष्ठान्न भोजनका साथै शेर्पा समुदायको मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्ष उल्लासका साथ यो पर्व मनाउने गरिन्छ’ सन्देशमा भनिएको छ।
प्रतिक्रिया