काठमाडौँ ।
नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोकले कवि युयुत्सु शर्माद्वारा अङ्ग्रेजी भाषामा लिखित काव्यसङ्ग्रह ‘लस्ट होरोस्कोप’ (हराएको चिना) शनिबार यहाँ विमोचन गरेकी छन् ।
निराला पब्लिकेसन्स, नयाँ दिल्ली भारतद्वारा प्रकाशित कृतिमा कोभिड कोभिड महामारीबाट भएको क्षति, उपचार र निको भएको तथा अमेरिका, युरोप र ल्याटिन अमेरिका भ्रमणका विषय समाविष्ट छन् । कार्यक्रममा ‘प्रतीक’ अङ्ग्रेजी साहित्यिक पत्रिकामा प्रकाशित केही नेपाली कविता पनि वाचन गरिएको थियो ।
सो अवसरमा अस्ट्रेलियाली राजदूत भोकले शर्माका कवितामा सत्य, सौन्दर्य, प्रेम र स्वतन्त्रताका विषय रहेको जनाउँदै तिनले श्वासप्रश्वाससँगै आसै नगरेका नयाँ विषयवस्तुतिर चकित पाराले लैजाने बताइन् ।
कवि शर्माले आफूले सानो छँदा आफ्ना हजुरबाले बनाएको चिना हराएको कुरा सम्झेको विषय आदि कृतिमा समेटिएको जानकारी दिए। ‘प्रतीक’ साहित्यिक पत्रिकाका संस्थापक सम्पादक हरि अधिकारीले ‘प्रतीक’ को दक्षिण एसिया विशेषाङ्कमा विश्वका प्रतिष्ठित कविका उच्च कोटिका कविता प्रकाशन भएको विचार व्यक्त गरे ।
सो अवसरमा सोही पत्रिकामा प्रकाशित राजदूतको भोकको उपन्यास अंश नेपाली भाषामा साहित्यकार अमर आकाशले सुनाए जसको अनुवाद कवि शर्माले नै गरेका हुन् । ‘प्रतीक’को सो विशेषाङ्कमा नेपालका पारिजात, शैलेन्द्र साकार, श्यामल, श्याम रिमाल, रमेश क्षितिजलगायतका कविता समाविष्ट छन् ।
कार्यक्रम आयोजक ह्वाइट लोटस बुक सपकी सञ्चालिका सिर्जना भण्डारीले नेपाली कविका कवितालाई विश्वजगत्ले नै प्रशंसा गरेको विचार राखे ।

प्रतिक्रिया