चितवन-२ मा फेरि चुनाव जित्न कुनै चुनौती छ जस्तो लाग्दैन : रवि लामिछाने

चितवन-२ मा फेरि चुनाव जित्न कुनै चुनौती छ जस्तो लाग्दैन : रवि लामिछाने


काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन–२ बाट फेरी चुनाव जित्ने बताएका छन् । सरकारले वैशाख १० मा उपनिर्वाचन गर्ने निर्णय स्वागत गर्दै उनले अब फेरि पनि रास्वपाबाट आफू नै उम्मेदवार हुने बताएका हुन् ।

उनले भने, मलाई चितवन–२ मा फेरी चुनाव चुनौतीपूर्ण छ भन्ने लाग्दैन । तर, पनि निर्वाचन हो । वैशाखसम्म के हुन्छ हेरौँ । त्यस्तो चुनौतीपूर्ण होला भन्ने लाग्दैन, हिजो मात्रै निर्वाचन क्षेत्रमा पुगेर आएँ । नागरिकहरूले जुन ढङ्गले प्रतिक्रिया दिनुभएको छ । त्यसले फेरि चुनाव जित्न कुनै चुनौती छ भन्ने लाग्दैन।’

गत ४ मंसिरको चुनावमा लामिछाने ४९ हजार २६१ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी उमेश श्रेष्ठले १५ हजार ९९ मत ल्याए । तेस्रो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाएका थिए ।

भारी मतले विजयी भएका लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको उम्मेदवारी र विजयी घोषणा गर्ने निर्वाचन आयोगको निर्णय बदर गरिदिएको थियो । लामिछानेले अमेरिकन नागरिकता त्यागेर पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भनी सर्वोच्च अदालतले उम्मेदवार नै हुन अयोग्य रहेको फैसला गरेको थियो ।

लामिछानेले विगतका भन्दा अझ बढी मतान्तरमा चुनाव जित्ने दाबी गरेका छन् ।