स्थिर सरकारका लागि सबैसँग छलफल गर्छु : मुख्यमन्त्री शाह

स्थिर सरकारका लागि सबैसँग छलफल गर्छु : मुख्यमन्त्री शाह


काठमाडौँ ।

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले स्थिर सरकार निर्माणका लागि सबैसँग छलफल गर्ने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गरे लगत्तै उनले नयाँ गठित सरकारलाई निरन्तरता दिन र स्थिर सरकार निर्माण गर्न सबै राजनीतिक दलसँग छलफल गर्ने बताएका हुन्।

मुख्यमन्त्री शाहले एक महिनाभित्रमा विश्वासको मत लिनेमा ढुक्क रहेको विश्वास व्यक्त गरे। लामो राजनीतिक यात्रापछि आज जनताले विश्वास गरेर मुलुकको व्यवस्थाअनुसार आफू एउटा पदीय जिम्मेवारी र दायित्वमा पुगेको उनको भनाइ थियो ।

मुख्यमन्त्री शाहले भने, ‘मलाई जिम्मेवारी पनि महशुस भएको छ र चुनौती पनि छन, ती चुनौतीसँग जुध्दै यो प्रदेशका लागि केही न केही योजना भोलिका दिनमा बनाउनेछु, जुन प्रत्यक्षरुपमा जनताले अनुभुति गर्न सकुन’ । विस्वासको मत कहिले लिनुहुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले छिटोभन्दा छिटो लिने र त्यसपछि मन्त्रिपरिषद् विस्तार हुने बताए ।