प्रधानन्यायाधीशसम्बन्धी विवादमा सर्वोच्चका न्यायाधीश विभाजित, को न्यायाधीश कता ?

प्रधानन्यायाधीशसम्बन्धी विवादमा सर्वोच्चका न्यायाधीश विभाजित, को न्यायाधीश कता ?


काठमाडौं, २९ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग चर्किंदै गएपछि सर्वोच्च अदालतका न्यायाधीशहरु विभाजित भएका छन् । इजलास बहिस्कार गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरूबीच फुट भएको बताइएको छ । सर्वोच्चमा रहेका १९ जना न्यायाधीशमध्ये पाँच जनाले बाँकी न्यायाधीशहरूसँगको छलफलमा सहभागी नहुने निर्णय गरेका छन् ।
यसअघि आजै नेपाल बार एसोसिसनका प्रतिनिधिहरुसँग सर्वोच्चका न्यायाधीशहरुले छलफल गरेका थिए । तर त्यो छलफलमा पनि न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल सहभागी भएनन् । उनीहरूले अबदेखि असन्तुष्ट न्यायाधीशहरूबीच हुने छलफलमा सहभागी नहुने निर्णय गरेका छन् ।
यी पाँच जना न्यायाधीशहरुले सर्वोच्च अदालतको फुलकोर्टबाहेक अरु छलफलमा सहभागी नहुने निर्णय गरेको बताइएको छ । लामो लामो छलफलपछि पनि कुनै निष्कर्ष आउन नसकेको र विवाद लम्बिँदै जाँदा पनि कुनै निकारामा पुग्न नसकिने भएपछि उनीहरु अब कुनै छलफलमा सहभागी नहुने बताइएको छ ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरूले अहिले जबराले तोकेका मुद्दा सुनुवाइ गर्न अस्वीकार गर्दै आएका छन् । बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्रै सुनुवाइ गर्दै आएका न्यायाधीशहरूले सोमबार नेपाल बारका पदाधिकारीसँग छलफल गरेका थिए । असन्तुष्ट न्यायाधीशहरूको साथ छाडेका पाँच जना न्यायाधीशहरूले मंगलबारदेखि नियमित मुद्दाको सुनुवाइ गर्ने वा गोलाप्रथा लागू नहोउन्जेल बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाइ गर्ने भन्नेबारे भने निर्णय गरिसकेका छैनन् । यसबारेमा मंगलबार पुनः छलफल हुने बताइएको छ ।