काठमाडौँ ।
सात दलीय गठबन्धनको सहयोगमा सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिमा जोड दिने बताएको छ । इतिहासमै प्रमुख प्रतिपक्षी दलको समेत विश्वासको मत लिएर सरकारको नेतृत्व गरेको माओवादीले सकभर सबै दलहरूको सहमतिमै राष्ट्रपति बनाउन जोड गरेको हो ।
तर, नेकपा (एमाले)ले भने यसलाई प्रधानमन्त्रीले गठबन्धनको सहमति बाहिर गएर पाँच वर्ष नै प्रधानमन्त्री हुने चालबाजीका रूपमा लिएको छ। राष्ट्रपति एमालेकै हुने ठोकुवा गर्दै एमाले नेता विशाल भट्टराईले भने– ‘राष्ट्रपति एमालेकै हुन्छ । प्रचण्डले पाँचै वर्ष प्रधानमन्त्रीको बार्गेनिङ गर्न यो तुरूप फाल्नुभएको हो । गठबन्धनबाट हाम्रो राष्ट्रपति पक्का छ ।’ तर उनले उम्मेदवारका विषयमा निर्णय गरिनसकेको बताए ।
शनिबार माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा राष्ट्रपतिका लागि राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके मुद्दा मिल्नेहरूसँग सहकार्य गरेर जाने विषयमा छलफल भएको नेताहरूले बताएका छन् भनेर यो समाचार आजको नेपाल समाचार पत्र दैनिकले लेखेको छ ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य, लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीहरूसँग छलफलका लागि आफूहरू खुला रहेको उनले बताए ।
प्रतिक्रिया