माघ २१, काठमाडौँ । नेकपा एमाले का नेता भीमबहादुर रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन पहल चालिएको भन्दै आपत्ति जनाएका छन् ।
शनिबार काठमाडौँमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उनले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरि गृहमन्त्री बनाउन खोजिएकोमा आपत्ति जनाएका हुन् ।
उनले भने, ‘आज मन्त्रीहरु हेरौँ त ! जसको वैदेशिक रोजगार कम्पनी छ, उसलाई श्रममन्त्री !जसको निजी स्कुल एकदम महँगो छ, ऊ शिक्षामन्त्री। जसलाई नागरिकताजस्तो अत्यन्त सम्वेदनशील राष्ट्रियतासँग सम्बन्धित छ, निजलाई खोजीखोजी त्यही नागरिकता स्वच्छ बनाउन गृह मन्त्रालय। गृह मन्त्रालय भनेपछि त्यही चाहिन्छ भन्ने महाअभियान१ के देशमा साँच्चै सुशासन आउन लागेको हो ? हामीले बहुदली व्यवस्था ल्यायौँ, गणतन्त्र ल्यायौँ, यसको अभिष्ट के थियो?’
उनले राष्ट्रिय राजनीतिलाई सिद्धान्त बिपरित अघि बढाउन खोज्ने बिषयमा कांग्रेस सभापति शेर बहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कसैले पनि जवाफ दिन नसकेको जिकिर गरे । रावलले विपरित सिद्धान्त भएका दल मिलेर लोकप्रिय मत मागेको कहि पनि नदेखिएको उल्लेख गरे ।
प्रतिक्रिया