आज उधौली पर्व तथा योः मरी पून्हिँ मनाइँदै

आज उधौली पर्व तथा योः मरी पून्हिँ मनाइँदै


काठमाडौँ ।

प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ ।

“किराँत राईहरुको दोस्रो महान चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ”, किराँती राई यायोख्खाका अध्यक्ष जीवन हाताछो राई भन्छन्, “यस चाडमा किराँती एकापसमा भेला भएर सङ्गठितरुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गरिन्छ ।”

किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली। खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ। वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो। बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ। बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा÷पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको ।

“धर्ती तातो हुँदै जाँदा चराचुरुङ्गी लेकतिरको शीतलतर्फ जान्छन्, त्यो समयको चाड उभौली भनियो। यो समयमा चिसो बढ्दै जाँदा लेकका चराचुरुङ्गी तराईतिर झर्छन्, यसलाई उधौली भनिएको हो”, किराँती राई यायोख्खाका अध्यक्ष राईले बताए ।

यता, संस्कृति अध्यता भोगिराज चाम्लिङका अनुसार उधौली र उभौली चाड मनाउने तरिका फरक छ । उनी भन्छन्,, “उभौलीमा ढोल झ्याम्टा बजाउने, साकेला शिली गरेर धर्तीलाई जगाउने प्रचलन छ । अब उधौलीमा पृथ्वीलाई सुत्न अर्थात् आराम दिनुपर्छ भन्ने विश्वास गरिन्छ। त्यसैले यस बेला प्रकृतिको पूजा गरे पनि धेरै होहल्ला गर्न हुन्न भन्ने धार्मिक मान्यता छ । तर पछिल्लो समय सहर बजारमा कृषि संस्कृति र जीवनशैली नभएका कारण उभौली झैँ ढोल झ्याम्टा बजाउँदै नाचगानसमेत गरिन्छ ।”

यस्तै आजै नेवार समुदायको चाडपर्व मध्येको एक योः मरी पून्हिँ पर्व पनि हो । नेवारी भाषामा यःमरी भन्नाले आफूलाई मनपर्ने रोटी भन्ने बुझिन्छ ।

चामलको पिठोलाई मुछेर महाछाकोजस्तो आकार बनाई त्यसभित्र चाकु, तिल, दूधको खुवा आदि आफ्नो इच्छा अनुसारको खाध्यवस्तु राखेर यमरी बनाइन्छ। यसरी बनाइएको यमरीलाई पानीको बाफबाट तयार पारिन्छ ।

नेवार समुदायमा प्रचलित कथा अनुसार योमरी देखापरेकै दिन धनका राजा कुबेर भेष बदलेर बाटोमा हिँडिरहेका हुन्छन् यसरी भेष बदलेर हिँडिरहेका बटुवा कुवेरबारे थाहै नभए पनि उनलाई सत्कारपूर्वक सप्रेम योमरी खान दिएको कथा छ । कुबेरले पाएको सत्कारबाट प्रसन्न भएर धनधान्यले अपार वरदान दिएको मानिन्छ ।

यस्तै, नेवार समुदायमा कुनै पनि सभाकार्य न्वारन, विवाह, जन्मदिन गर्ने बेलामा समेत यमरीको प्रयोग गर्ने गरीन्छ ।

यमरी पूर्णीमाका दिन अन्न भण्डारण गर्ने स्थानमा समेत पुजा गरी अन्नपूर्ण भइ सुख, शान्ति भइरहोस भनी पुजा अराधना गरिन्छ । यसदिन बालकदेखि वृद्धसम्मका समूहमा नाचगान गरी टोल टोलमा यमरी माग्न जाने परम्परा छ ।

यसरी आफ्नो आगनमा यमरी माग्न आएकालाई भगवान समान मानेर यमरी दिने गरीन्छ। यसैदिन रात छोट्टिएर दिन लामो हुने मान्यता रहेको छ ।