सत्ता गठबन्धनको संयुक्त चुनावी अपीलमा जनममोर्चा र लोसपाले गरेन हस्ताक्षर

सत्ता गठबन्धनको संयुक्त चुनावी अपीलमा जनममोर्चा र लोसपाले गरेन हस्ताक्षर


काठमाडौँ ।

पाँच दलीय सत्ता गठबन्धनले आज जारी गरेको संयुक्त अपीलमा राष्ट्रिय जनममोर्चा र लोसपाले हस्ताक्षर गरेका छैनन्। देशमा स्थिरता, विकास समृद्धिका गठबन्धनमा आवद्ध दलहरूलाई मतदान गर्न गठबन्धनले जारी गरेको विज्ञप्तीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको मात्रै हस्ताक्षर छ ।

हस्ताक्षर नभएको विषयमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने आफू बाग्लुङमा भएको र किन हस्ताक्षर भएन भन्ने थाहा नभएको बताए । उनले आफू चुनावी अभियानमा रहेको जवाफ दिए । लोसपाको भने यस विषयमा प्रतिक्रिया आएको छैन् ।

गठबन्धनका तीन दलहरूले लोकतन्त्र, संविधान र विधिको शासनमार्फत सुशासन र समृद्धिको राष्ट्रिय अभिलाषा परिपूर्ति गर्न गठबन्धनको आवश्यकतालाई मनन गर्न र आगामी निर्वाचनमा यो गठबन्धनलाई अत्यधिक बहुमतका साथ विजयी गराउन अपील गरेका छन् ।

अपिलमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नेपालको संविधानले परिकल्पना गरेअनुरूप राष्ट्रियता, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, समाजवाद, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न वर्तमान चुनावी गठबन्धन दलहरू प्रतिबद्ध रहेको उल्लेख छ । लोकतान्त्रिक गठबन्धनको यो नै साझा र प्रष्ट वैचारिक धरातल र सहकार्यको आधार हो ।

“विसं २०७८ असारमा निर्माण भएको पाँच दलीय गठबन्धनको उद्देश्य मुलुकको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको भावना र मर्म विपरीत दुई–दुई पटक गरिएको प्रतिनिधिसभाको असंवैधानिक विघटनलगायत तत्कालीन सरकार प्रमुखको अनेकौँ स्वेच्छाचारी कदमलाई परास्त गर्नु र संविधानको रक्षा गर्नु रहेको कुरा जगजाहेर छ”, अपिलमा उल्लेख छ ।

छोटो अवधिमा सरकारले लोकतन्त्रलाई संस्थागत गर्न संवैधानिक अधिकारको पूर्ण प्रत्याभूति गर्दै भयरहित वातावरणमा निष्पक्षरूपमा सफलताका साथ स्थानीय निर्वाचन सम्पन्न गरेको र अहिले गठबन्धनको यो सरकार आउँदो आम निर्वाचनलाई पनि भयरहित र निष्पक्षरूपमा सम्पन्न गर्न कटिबद्ध रहेको जनाइएको छ ।

गठबन्धन दलहरूले अधिनायकवादी आक्रमणको खतरा जीवितै रहेको परिस्थितिमा संविधानमाथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहने स्पष्ट पारेका छन् । देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन भ्रष्टाचारमा शून्य सहनशीलतासहितको सुशासन र जनताको घरदैलोमै प्रभावकारी सेवाकोे सुनिश्चितता गर्दै उत्पादन वृद्धि र मुलुकभित्रै रोजगारीका पर्याप्त अवसरको सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणकोे राष्ट्रिय कार्यभारलाई गठबन्धन दलले उच्च प्राथमिकता दिने उल्लेख गरेका छन् ।

“जनताको समृद्धिको आकाङ्क्षालाई आगामी निर्वाचनपछि बन्ने सरकारले बिना आलटाल र ढिलासुस्ती सम्बोधन गर्नु आवश्यक छ । त्यसका लागि गठबन्धन दलहरूका प्राथमिकता प्रष्ट छन् । कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि एवं बजारीकरण, पूर्वाधार विकास र पर्यटन प्रवद्र्धन, द्रुत औद्योगीकरण, व्यापार घाटाको न्यूनीकरण गर्न आयात प्रतिस्थापन एवं निर्यात प्रवद्र्धन र नेपालको तुलनात्मक लाभ एवं प्रचुर सम्भावना भएका जलविद्युत्जस्ता क्षेत्रको विकास नै अहिलेको आवश्यकता हो । यसका लागि पर्याप्त निजी, सहकारी एवं सार्वजनिक लगानी वृद्धि गर्दै देशको हितमा विदेशी लगानी आकर्षण गर्ने नीति गठबन्धन सरकारले लिनेछ । यस्तो लगानीका लागि आवश्यक वातावरण, राजनीतिक स्थिरता, नीतिहरूकोे सुनिश्चितताप्रति गठबन्धन सचेत छ”, अपिलमा जनाइएको छ ।

जलविद्युत्को विकासमार्फत मुलुकको आवश्यकता पूर्ति गर्दै मुलुकमा उद्योग व्यवसायको विस्तार गर्न, सफा ऊर्जाको उपभोग बढाएर वातावरण विनाश रोक्न, स्वदेशमा उत्पादित विद्युत्को निर्यात बढाउँदै पेट्रोलियम पदार्थको आयात घटाई भयावह बन्दै गएको व्यापार घाटालाई कम गर्ने सम्भावना छन् । ती सम्भावनाको सदुपयोग गर्ने प्रष्ट दूरदृष्टि र कार्ययोजनाका साथ गठबन्धनको भावी सरकारले कार्य गर्ने अपिलमा उल्लेख छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गरी सेवाको उपलब्धता र गुणस्तरमा उल्लेख्य सुधार गर्न गठबन्धनका दलहरू प्रतिबद्ध रहेको जनाएका छन् ।

नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई देशको आवश्यकता र राष्ट्रिय स्वार्थ केन्द्रित लक्ष्यका साथ सञ्चालन गर्नु गठबन्धन दलहरूको नीति हुनेछ । नेपालको परराष्ट्र नीति राष्ट्रिय हित र आवश्यकताअनुरूप गतिशील, सन्तुलित र अद्यावधिक बनाउनु आवश्यक छ । लोकतान्त्रिक शक्तिहरू सम्मिलित गठबन्धन सरकार साझा राष्ट्रिय दृष्टिकोण बनाउन निरन्तर क्रियाशील रहने अपिलमा जनाइएको छ ।