जेन्जी आन्दोलनका नाममा अष्ट्रेलियामा संकलित सहयोग राशी अझै गोफन्डमीमै, निकाल्ने प्रयास जारी

जेन्जी आन्दोलनका नाममा अष्ट्रेलियामा संकलित सहयोग राशी अझै गोफन्डमीमै, निकाल्ने प्रयास जारी

केविसीखबर जेन्जी फन्डरेजिग अपडेट- २



मेलबर्न, अष्ट्रेलिया ।

नेपालमा सेप्टेम्बर ८ तारिख भएको जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाउनेका परिवार र घाइतेको उपचारका लागि अष्ट्रेलियामा संकलन गरिएको ठूलो सहयोग राशी संकलनकर्ताहरु केविसीखबरको सम्पर्कमा आएका छन् ।
गोल्डकोष्टका हिरोशी खनाल र मेलबर्नका आभाष बम्जनले १ लाख ७१ हजार ९ सय ५७ र ३ लाख ४२ हजार ४ सय २९ संकलन गरेका छन् । दुबैले ठूलो सहयोग राशी जम्मा भएपछि अमेरिकास्थित दायित्व नामक गैरनाफामूलक संस्थालाई पार्टनर तोकेर त्यस मार्फत नेपालमा सहयोग रकम लैजाने तयारी गरेका हुन् ।

केविसीखबरसँग हिरोशीले भने, “हामीले सामाजिक सञ्जाल मार्फत दाताहरुलाई पछिल्लो स्थितिका बारेमा अवगत गराइरहेका छौं । अहिले जम्मा भएको कूल रकम ५ लाख १४ हजार ३ सय ८६ नै गोफन्डमीमा रोकिएको छ । धेरै सहयोग राशी भएपछि त्यसलाई भेरिफाई गर्ने प्रक्रिया अलि झन्झटिलो हुँदो रहेछ । उनीहरुले मागेका सबै कागजात हामीले उपलब्ध गराइसकेका छौं । अहिले हामी रकम रिलिज हुने दिन कुरेर बसेका छौं ।”

केविसीखबरसँग सम्पर्कमा आएका आभाष बम्जनले पनि सहयोग राशी पूर्णतः नेपालमा सेप्टेम्बर ८ तारिखमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको परिवारलाई र घाइतेहरुको उपचार, पुनस्र्थापना लगायतमा खर्च गर्ने प्रतिबद्धता जनाए ।

समूदायमा यसको पारदर्शी वितरणलाई लिएर प्रश्न उठेकोमा उनीहरुले सम्बन्धित बाहेक अन्य कसैलाई पनि यो रकम नजाने प्रष्ट पारे । उनी भन्छन् “हामीले पैसा संकलन गर्दा नै धेरैले एनआरएन वा सरकारी निकायमा जम्मा गर्न नहुने बताएका थिए । त्यसै कारण हामीले गैरनाफामूलक संस्था खोज्ने क्रममा अनेक चरणको अनुसन्धानपछि अमेरिकाको दायित्व नामक गैरसरकारी संस्थासँग सहकार्य गरेका हौं ।”

रकम सम्बन्धित ठाउँमा र पीडितहरुकोमा जाने कुराको सुनिश्चितताको लागि सबैसँग सहकार्य गर्न आफुहरु तयार रहेको उनले स्पष्ट पारे ।

खनाल र बम्जनले अष्ट्रेलियामा रहेको नेपाली समूदायलाई गोफन्डमीमा रहेको रकमलाई निधन भएका सहिदको परिवार र घाइतेको उपचारमा खर्च गर्नेगरी नेपालमा पठाउने कार्यमा सहजता ल्याइदिन पनि अपिल गरेका छन् ।

Read Previous Article >>