तनावका कारण आइसोलेसनमा छु, छिट्टै नेपाल फर्किन्छु : सन्दीप लामिछाने

तनावका कारण आइसोलेसनमा छु, छिट्टै नेपाल फर्किन्छु : सन्दीप लामिछाने


काठमाडौँ ।

नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेले आफू गम्भीर षड्यन्त्रको सिकार भएको बताएका छन् । नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेले आफूमाथि लागेको झुटो आरोपको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तयारीमा रहेको बताएका हुन् ।

आइतबार राति सामाजिक सञ्जालमार्फत सन्दीपले आफू अहिले मानसिक र शारीरिक तनावका कारण डाक्टरको सल्लाहअनुसार आफू अहिले आइसोलेसनमा रहेको समेत बताएका छन्।

आइतबार राति सामाजिक सन्जाल फेसबुकमा एउटा लामो स्टाटस लेख्दै लामिछानेले सन्चारमाध्यम तथा सामाजिक सन्जलामा एकलौटी तरिकाले सत्यतथ्य नबुझी लेखिएको र आफ्नो चरित्रमा गम्भीर आँचसमेत आएको बताएका छन्।

‘मेरो नाउँमा वारेन्ट जारी भएको समाचार र मविरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विक्षिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था रहेन’, उनले भनेका छन्, ‘यी सब कुराले मलाई एकातिर मानसिक असर गर्‍यो भने अर्कातिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो र मानसिक तनाव र स्वास्थ्य खराबीका कारण मलाई आईसोलेसनमा राखेर बसेको छु ।’

उनले पीडितले दिएको जाहेरीलाई ‘झुठा’ उल्लेख गर्दै अपराधीको रुपमा चित्रणले आफूलाई मानसिक र शारीरिकरुपमा प्रभावित पारेको पनि भनेका छन् ।

उनले डाक्टरहरुको सल्लाहमा आफूलाई सामान्य अवस्थामा ल्याउँदै गरेको भनेका छन् । उनले अगाडि भनेका छन्, ‘स्वास्थ्यमा क्रमिक सुधार आउँछ र जति सक्दो चाँडो नेपाल फर्किएर मविरुद्धको झुठा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।’

टी–२० सिरिज खेल्न केन्या गएका लामिछानेले त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका गएका थिए । त्यहाँबाट चाँडै फर्किने बताए पनि उनी हाल कहाँ छन् खुलाएका छैनन् । प्रहरीले पनि पत्ता लगाउन सकेको छैन ।

२१ भदौमा सन्दीपविरुद्ध एक नाबालिगले आफूलाई बारम्बार बलात्कार गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन् ।