नेपालका बाढीपीडितका लागि दिदीबहिनी वुमेन्स नेटवर्कको २० हजार डलर सहयोग

नेपालका बाढीपीडितका लागि दिदीबहिनी वुमेन्स नेटवर्कको २० हजार डलर सहयोग


सिड्नी । नेपालमा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापना अभियानमा सहयोग पुर्‍याउन दिदीबहिनी वुमेन्स नेटवर्क अष्ट्रेलिया (Didibahini Women’s Network Australia–DWNA) ले नेपाल सरकारको विपद् राहत कोषमा २० हजार अष्ट्रेलियन डलर सहयोग गरेको छ।

DWNA ले आज उक्त रकम नेपाल सरकारको विपद् राहत कोषमा प्रदान गरेको जनाएको छ। विपद् प्रभावित परिवार तथा समुदायलाई तत्काल राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग गरिएको हो।

संस्थाका अनुसार यो सहयोग सदस्यहरू, परिवार, साथीभाइ, GoFundMe मार्फत सहयोग गर्ने दाताहरू, सल्लाहकारहरू, युनिट कमिटीहरू, NSW राज्य समिति तथा संस्थाका सम्मानित प्रायोजकहरूको उदारता र सामूहिक ऐक्यबद्धताबाट सम्भव भएको हो।

यसैबीच, दिदीबहिनी वुमेन्स नेटवर्क अष्ट्रेलियाले आज साँझ क्यान्डललाइट भिजिल समेत आयोजना गरेको छ। कार्यक्रममा नेपालमा विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक मिनेट मौनधारण गरिएको थियो।

भिजिलमार्फत विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूको दुःख र पीडामा आफूहरू साथमा रहेको सन्देश दिइएको DWNA ले जनाएको छ।

नेपालमा आएको विपद्पछि अष्ट्रेलियामा रहेका नेपाली समुदाय, संघसंस्था तथा विभिन्न सामाजिक समूहहरूले राहत तथा उद्धारका लागि सहयोग जुटाइरहेका छन्। दिदीबहिनी वुमेन्स नेटवर्कको यो सहयोग पनि विपद्बाट प्रभावित नेपालीहरूलाई राहत पुर्‍याउने मानवीय अभियानको महत्वपूर्ण हिस्सा बनेको छ।