मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाकी गभर्नर जनरल साम मोस्टिन एसीले नेपालको भोटेकोशीमा गएको बाढी पीडित परिवारको अवस्थाबारे जानकारी लिएकी छिन् । नेपालीमूलका अष्ट्रेलियन युवा पीजे श्रेष्ठलाई फोन गर्दै गभर्नर जनरलले पीडित परिवारहरुको अवस्थाबारे सोधखोज गरेकी हुन् । केविसीखबरसँग कुरा गर्दै श्रेष्ठले “प्रभावित परिवारहरूले के भोगिरहेका छन्, उनीहरूले यो कठिन परिस्थितिको सामना कसरी गरिरहेका छन् र यस्तो अकल्पनीय संकटका बेला उनीहरूलाई थप कसरी सहयोग गर्न सकिन्छ” सोधेको बताए ।
गभर्नर जनरल साम अष्ट्रेलियन सेनाको परमाधिपति समेत हुन् ।
श्रेष्ठले गभर्नर जनरलबाट नै परिस्थितिको प्रत्यक्ष जानकारी लिने उद्देश्यले चासो राख्दै फोन गरेकोमा आभार पनि व्यक्त गरेका छन् । उनले भनेका छन् “महामहिमज्यू, अष्ट्रेलियामा महामहिम राजा चार्ल्स तृतीयका प्रतिनिधि तथा अष्ट्रेलियन डिफेन्स फोर्सका कमान्डर–इन–चीफका रूपमा तपाईंको समर्थनको अत्यन्त ठूलो महत्व छ। तर आज तपाईंले देखाउनुभएको मानवीयता, आत्मीयता र करुणाले अझ ठूलो अर्थ राख्छ ।”
श्रेष्ठले आफुले सकेसम्म सम्बन्धित पक्षहरुसँग समन्वय गरी पीडितहरुलाई राहत र उद्धारमा संयोजन गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् । श्रेष्ठ अष्ट्रेलियाको संघीय सांसदको उम्मेद्वार थिए ।

प्रतिक्रिया