काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाइँदै छ ।
मन्त्रिपरिषद् बैठकको निर्णअनुसार बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक बनाउन लागिएको हो ।
आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने छ । शोक दिवसमा सार्वजनिक बिदा भने दिइएको छैन ।
प्रहरी प्रधान कार्यालय नक्सालले जनाएअनुसार भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५३ जनाको शव फेला परेको छ । यस्तै, बाढीमा परी अझै तीन हजार ९९२ जना सम्पर्कविहीन छन् ।
पछिल्लो विवरणअनुसार फेलापरेका शवमध्ये ५३० पुरुष, ३२८ महिला तथा ४९५ वटा शव पहिचान गर्न नसकिने अवस्थामा छन् । केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेकामध्ये स्वदेशीतर्फ दुई हजार ८२७ पुरुष र ५६७ महिला छन् । यस्तै, विदेशी नागरिकतर्फ २६७ पुरुष, २३९ महिला सम्पर्कविहीन छन् ।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनकार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको छ । फेलापरेका शवमध्ये एक हजार ४४ वटा शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
बाढीपछि हालसम्म नौ हजार १५९ जना घाइतेको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन हजार १९० जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिए ।
बेपत्ता व्यक्तिको पहिचान तथा फेलापरेका शवको सनाखत गर्न डीएनए परीक्षणलाई प्राथमिकता दिइएको छ । हालसम्म मृतक एक हजार १८१ जना र मृतकका आफन्त एक हजार १९५ जना गरी दुई हजार ३७६ जनाको डिएनए नमूना सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।
बेपत्ताको खोजी, उद्धार, शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरीसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा परिचालित छन् ।

प्रतिक्रिया