नेपालका बाढी पीडितप्रति ऐक्यबद्धता जनाउँदै दक्षिण अस्ट्रेलियाको संसदमा प्रिमियरले राखे विशेष प्रस्ताव

नेपालका बाढी पीडितप्रति ऐक्यबद्धता जनाउँदै दक्षिण अस्ट्रेलियाको संसदमा प्रिमियरले राखे विशेष प्रस्ताव


एडिलेड। दक्षिण अस्ट्रेलियाको संसदमा नेपालमा आएको विनाशकारी बाढीले प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै प्रस्तुत विशेष प्रस्तावका क्रममा नेपाली समुदायले दक्षिण अस्ट्रेलियाको सामाजिक, आर्थिक र बहुसांस्कृतिक क्षेत्रमा पुर्‍याएको योगदानको विशेष प्रशंसा गरिएको छ।

दक्षिण अस्ट्रेलियाका प्रिमियर पिटर मालिनाउसकसले प्रस्तुत गर्नुभएको प्रस्तावमा नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल र नेपाली जनतासँग दक्षिण अस्ट्रेलियाको ऐक्यबद्धता व्यक्त गरिएको छ। प्रिमियर मालिनाउसकसले यसअघि दक्षिण अस्ट्रेलिया सरकारले नेपालका बाढीपीडितका लागि घोषणा गरेको २ लाख अस्ट्रेलियन डलरको मानवीय सहायताबारे पनि संसदमा उल्लेख गर्नुभएको छ।

प्रस्तावमाथिको छलफलमा सांसदहरूले दक्षिण अस्ट्रेलियाको विकास र बहुसांस्कृतिक समाज निर्माणमा नेपाली समुदायले पुर्‍याएको योगदानको खुलेर प्रशंसा गरेका छन्। मेहनती, शान्तिप्रिय र समुदायप्रति प्रतिबद्ध नेपाली समुदायले दक्षिण अस्ट्रेलियालाई थप समृद्ध बनाएको भन्दै सांसदहरूले नेपाली समुदायप्रति सम्मान व्यक्त गरेका छन्।

यस क्रममा नेपालको राष्ट्रिय झण्डाको समेत संसदमा विशेष चर्चा भएको छ। नेपाली झण्डालाई शान्ति र कडा परिश्रमसँग जोड्दै नेपाली समुदायको पहिचान, मेहनत र योगदानको चर्चा गरिएको थियो।

चर्चित गायिका रचना रिमालको पनि उपस्थिति

यस विशेष अवसरमा नेपालकी चर्चित गायिका रचना रिमालको समेत दक्षिण अस्ट्रेलियाको संसदमा उपस्थिति रहेको थियो। नेपालप्रति ऐक्यबद्धता जनाउन संसदमा प्रस्तुत गरिएको महत्वपूर्ण प्रस्तावका क्रममा नेपाली समुदायका प्रतिनिधि तथा अगुवाहरूसँगै रिमालको उपस्थितिले पनि विशेष ध्यान खिचेको थियो।
संसदमा भएको उक्त अवसरमा बहुसास्कृतिक आयोग सदस्य मञ्जु खड्का, म्यारियन काउन्सिलकी काउन्सिलर रेनुका लामा, नेपालका पूर्व अवैतनिक महावाणिज्यदूत दीपक धमला, एनआरएनए ओशियाना संयोजक रमेश जोशी, फेन्का अष्ट्रेलिया उपाध्यक्ष कपिल पाण्डे, एनआरएनए साउथ अस्ट्रेलिया संयोजक थिर गुरुङ लगायतको उपस्थिति थियो।

त्यस्तै, लेवर पार्टीका नेपाली अगुवा गोविन्द राना सहित विभिन्न संघसंस्था तथा समुदायका प्रतिनिधिहरू पनि संसदमा उपस्थित थिए।
नेपालमा आएको विपत्तिप्रति ऐक्यबद्धता जनाउने प्रस्तावसँगै दक्षिण अस्ट्रेलियाको संसदमा नेपाली झण्डा, नेपाली समुदायको मेहनत र राज्यप्रतिको योगदानको प्रशंसा हुनुले नेपाल र दक्षिण अस्ट्रेलियाबीचको आत्मीय सम्बन्धलाई थप उजागर गरेको छ।