घले दम्पत्तिको पाँच तारे होटल मेरियटको ‘द लक्जरी कलेक्सन’ले सञ्चालन गर्ने

घले दम्पत्तिको पाँच तारे होटल मेरियटको ‘द लक्जरी कलेक्सन’ले सञ्चालन गर्ने



काठमाडौं । अस्ट्रेलियाका नेपाली व्यवसायी दम्पती शेष घले र जमुना गुरूङले काठमाडौँको लैनचौरमा निर्माण गरिरहेको होटलको व्यवस्थापन मेरियट इन्टरनेसनलकै ब्राण्ड ‘द लक्जरी कलेक्सन’ले गर्ने भएको छ।
आइतबार नेपाल आएका मेरियट इन्टरनेसनल इंकका अध्यक्ष डेभिड मेरियटले निर्माणाधीन होटलको भ्रमण गरेर लगानीकर्ताहरूको भिजन र हिम्मतको तारिफ गरेका छन्।
यसअघि घलेले मेरियट अन्तर्गतकै ब्राण्ड शेराटनले व्यवस्थापन सम्हाल्ने गरी होटल निर्माण अघि बढाएका थिए। तर होटलको पूर्वाधार निर्माण सम्पन्न हुन समय लाग्ने भएपछि शेराटन फर्किएको थियो।
घलेले होटलको गुणस्तरलाई लक्जरी ग्रेडमा स्तरोन्नति गरेपछि ‘लक्जरी कलेक्सन बाई मेरियट’ ब्रान्ड पाएको छ।
करिब आठ अर्ब रुपैयाँ लगानी गर्ने भनेर सुरु गरिएको उक्त होटलको लगानी अहिले करिब १५ अर्ब रुपैयाँ पुगेको बताइएको छ। ‘होटलको निर्माण २०१३ देखि नै निर्माण सुरु भएको थियो । विभिन्न परिस्थितिले निर्माणमा ढिला भयो। लागत पनि धेरै बढ्न गयो। अब निर्माण पूरा हुन ३-४ महिना बाँकी छ,’ घलेले होटल परिसरमा सञ्चारकर्मीहरुसँग भने, ‘लगानी करिब १५ अर्ब रुपैयाँको हाराहारीमा पुग्ने देखिन्छ।’ अहिले होटल निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको उनीहरूले बताए।
लगानीकर्ता जमुना गुरुङ घलेले होटललाई अन्तर्राष्ट्रियस्तरको विलासी सुविधासहित तयार पार्न विशेष ध्यान दिइएको बताइन्। होटललाई सुरुमा शेराटन ब्रान्डमा सञ्चालन गर्ने योजना रहे पनि पछि ‘लक्जरी कलेक्सन’मा स्तरोन्नति गरिएपछि डिजाइन र संरचनामा व्यापक परिमार्जन गर्नुपरेको उनले जानकारी दिइन्।

‘नेपालमा दक्ष र अर्ध दक्ष कामदार पाउन एकदमै गाह्रो रहेछ। त्यस्तो खालको जनशक्ति नपाएर पनि यो होटल निर्माणको काममा ढिला भइरहेको छ। काम गर्छु भन्दा पनि कामदार नपाएर हामीले धेरै नै समस्या भोगेका छौँ,’ गुरूङले भनिन्।

कुल २ सय २५ कोठा रहने यो होटल निर्माण सम्पन्न भएर सञ्चालनमा आउँदा दुई तल्लाको प्रिमियम सुइट रहने छ। उक्त होटल आगामी अक्टोबर महिनाबाट सञ्चालनमा आउने घलेले बताएका छन्।

द लक्जरी कलेक्सन मेरियट इन्टरनेसनलको लक्जरी क्याटगोरीको ब्रान्ड हो। यो ब्रान्डमा विश्वभरका ४० देशमा १३० वटा होटल सञ्चालनमा आइसकेका छन्।

द लक्जरी कलेक्सनले व्यवस्थापन गर्ने भएपछि यो होटल दक्षिण एसियामै मेरियटको पहिलो लक्जरी होटल हुने घले दम्पतीको दाबी छ।

मेरियट इन्टरनेसनलअन्तर्गत विश्वभर ९ हजार ८ सय फ्रेन्चाइज होटल तथा रिसोर्टहरू १४० भन्दा बढी देशमा फैलिएका छन्।

मेरियटको लक्जरी क्याटगोरीमा नेपालमा सञ्चालन हुने यो पहिलो होटल हुने भएको छ। त्यसबाहेक, लक्जरी क्याटगोरीको अर्को ब्रान्ड द रिट्ज-कार्ल्टन चौधरी ग्रुपअन्तर्गतको सीजी हस्पिटालिटी ग्लोबलले लिएको छ।

सीजी हस्पिटालिटी ग्लोबलले पनि आइतबार काठमाडौँमा विशेष कार्यक्रम आयोजना गरेर मेरियट इन्टरनेसनलसँग सहकार्यको समझदारीपत्रमा हस्ताक्षर गरेको छ।