जब सिड्नीमा एक हजार ८ नेपाली महिला कलशयात्रामा निस्कनेछन्…

जब सिड्नीमा एक हजार ८ नेपाली महिला कलशयात्रामा निस्कनेछन्…


सिड्नी, अष्ट्रेलिया ।
अर्को महिना आयोजना हुन लागेको एक धार्मिक अनुष्ठानका क्रममा १ हजार ८ महिला हातमा कलश लिएर पत्रयात्रामा निस्कने भएका छन् । यसका लागि ५ सय भन्दा बढीले आफ्नो नाम दर्ता गराइसकेका छन् भने कार्यक्रमको सुरुवातसम्म यो संख्या १ हजार ८ पुग्नेछ । प्रसंग सिड्नीमा बन्न लागेको बहुसांस्कृतिक केन्द्र र यसका लागि तीन दिनसम्म हुन लागेको धार्मिक अनुष्ठानको हो ।
ग्रेटर सिड्नीमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माण अभियानले यतिबेला तिब्रता पाएको छ। यहि अगस्त २९ देखि ३१ सम्म आयोजना गरिएको ३ दिवसिय सिड्नी आध्यात्मिक महोत्सव २०२५ को पहिलो दिन १००८ महिलाहरु द्वारा गरिने कलश यात्राको आयोजना गरिएको छ। यसकालागि ५०० भन्दा बढीले आफ्नो नाम दर्ता गराईसकेको कलश यात्रा कार्यदल कि संयोजक मिना शर्माले जानकारी दिनु भएको छ।

गएको करिब १ महिना अगाडी सुरु गरिएको १००८ कलश यात्रा अभियानमा ५० प्रतिशतले आफ्नो नाम दर्ता गराइसकेका छन्। यो पबित्र संकल्प यात्रामा समुदायका दिदीबहिनीहरुले देखाउनुभएको अपार उत्साहलाई हेर्दा आउदो ६ हप्तासम्म कलश यात्रीहरुको संख्या १००८ पुग्ने बिश्वास गरिएको संयोजक शर्माले बताउनु भयो।

करिब एक बर्ष अगाडी स्थापित गैर नाफामूलक सामुदायिक संस्था, ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्र (Greater Sydney Nepalese Multicultural Center – GSNMC) अभियानमा करिब ४०० भन्दा धेरैले आजीवन सदस्यता लिईसकेका छन्। सिड्नी आध्यात्मिक महोत्सव २०२५ , GSNMC सम्बन्धि सचेतना, अर्थसंकलन तथा समुदायका सकेसम्म धेरैलाई आजीवन सदस्यता लिन प्रोत्साहन गर्नका लागि महत्वपूर्ण हुने आयोजकहरुले बताएका छन्।
वाचन प्रविण दीनबन्धु पोखरेलको प्रमूख आतिथ्यमा आयोजित सिड्नी आध्यात्मिक महोत्सवमा बौद्ध लामा गुरु खेन्पो तेन्जिंग त्रिन्ले द्वारा आशिर्वाद ग्रहण गर्ने कार्यक्रम रहेको छ।

सिड्नीको सेरोफेरोमा रहने नेपाली समुदायको साझा अपनत्व हुने गरि बहुसांस्कृतिक केन्द्र निर्माणमा सबै सहभागी भइ सहयोग गर्न GSNMC ले समुदायसंग अपिल गरेको छ। GSNMC ले पहिलो चरणमा करिब ५ हजार जति आजिबन सदस्यता वितरण गर्दै, ५ मिलियन डलर अर्थ संकलन गरि करिब ५ Acre (करिब २० हजार वर्गमिटर) क्षेत्रफल सहितको जग्गा खरिद गर्दै नेपाली बहुसांस्कृतिक केन्द्रका लागि प्रारम्भिक काम सुरुगर्ने दीर्घकालीन उद्देश्य लिएको छ।

प्रस्तावित ‘नेपाली बहुसांस्कृतिक केन्द्र’, नेपालको बिबिधता झल्कने र सबैले अपनत्व महशूस गर्ने गरि निर्माण गरिने छ। यो दीर्घकालीन महत्वको साझा समुदायिक अभियान भविष्यमा हाम्रो समुदायिक एकता, सबलता र हाम्रो स्वाभिमानसंग जोडिएको बताइएको छ।

Kalas Yatra Sydney Aadhyatmic Mahotsab – Final (1080 x 1440 px) – 1