भक्तपुर जिल्ला लागू पदार्थको उच्च जोखिममा, १० मध्ये २ युवा कुलतमा

भक्तपुर जिल्ला लागू पदार्थको उच्च जोखिममा, १० मध्ये २ युवा कुलतमा



भक्तपुर । भक्तपुर जिल्ला एचआईभी संक्रमण र लागूपदार्थ दुर्व्यसनको उच्च जोखिममा देखिएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र (एनसीएएससी) को सन् २०२४ को तथ्यांकले भक्तपुर एचआईभी संक्रमण तथा लागुपदार्थ दुर्व्यसनको उच्च जोखिममा रहेको देखाएको हो ।

केन्द्रका अनुसार भक्तपुरका कलेज जाने उमेरका १० युवामध्ये २ जना लागुपदार्थ दुर्व्यसनमा फसेका छन् । उनीहरू गाँजादेखि सुईमार्फत लागुपदार्थ प्रयोगकर्ताहरू हुन् । भक्तपुरमा एक हजार ३१२ देखि १ हजार ५३७ जनाको हाराहारीमा सुईमार्फत लागुपदार्थ प्रयोगकर्ता रहेको अनुमानित तथ्यांक केन्द्रको छ । जसमा पुरुष एक हजार १६५ देखि एक हजार ३८२ र महिला १४७ देखि १५५ जनाको हाराहारीमा छन् । सुईमार्फत लागुपदार्थ प्रयोगकर्ताहरूमा एचआईभी संक्रमण हुने सम्भावना उच्च हुन्छ ।

त्यस्तै भक्तपुरका महिला, पुरुष तथा तेस्रो लिङ्गी यौनकर्मीहरू पनि एचआईभी संक्रमणको जोखिममा छन् । केन्द्रका अनुसार भक्तपुरमा ४ हजार ८१८ देखि ५ हजार ४३४ जनाको हाराहारीमा महिला यौनकर्मी छन् । त्यस्तै ४२६ देखि ५०० को हाराहारीमा पुरुष यौनकर्मी छन् । भक्तपुरका तेस्रो लिङ्गीको संख्या ५७५ देखि ६६३ र तेस्रो लिङ्गी यौनकर्मीहरू २६१ देखि ३२५ को संख्यामा रहेको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

केन्द्रका अनुसार भक्तपुरमा पुरुषसँग यौन सम्बन्ध राख्ने पुरुषको संख्या ६३८ देखि ७०४ जनाको हाराहारीमा छन् । महिला तथा पुरुष यौनकर्मी र उनीहरूका ग्राहक तथा सुईबाट लागुपदार्थ प्रयोगकर्ताहरू एचआईभी संक्रमणका दृष्टिले जोखिमयुक्त रहेको भक्तपुरका एचआईभी एड्स तथा लागुपदार्थ दुर्व्यसनको क्षेत्रमा कार्यरत संस्था सुरुवातका कार्यकारी निर्देशक राजेश दिदिया बताउँछन् ।

उनीहरूले सुरक्षित व्यवहार अपनाउन सकेनन् भने एचआईभी संक्रमण हुने सम्भावना शत प्रतिशत रहेको उनको भनाइ छ ।

उनले भक्तपुरमा एउटै सुईबाट धेरैले लागुपदार्थ प्रयोग गर्ने प्रवृत्तिले एचआईभी संक्रमित हुनेहरू युवाहरूको संख्या बढिरहेको पाइएको जानकारी दिए ।

कार्यकारी निर्देशक दिदियाले प्रहरीले दिनहुँजसो नियन्त्रणमा लिने लागुपदार्थको परिमाणले पनि भक्तपुरमा दुर्व्यसनी युवाहरूको संख्या बढेको स्पष्ट हुने बताए ।

‘प्रहरीमात्रै लागेर लागुपदार्थ दुर्व्यवसन नियन्त्रणमा आउँदैन’, उनले भने, ‘स्थानीय तहले विद्यालय तथा कलेज लक्षित जनचेतना कार्यक्रम गर्नुपर्छ । समुदायमा आधारित कार्यक्रमलाई त झन् छुटाउनै हुँदैन ।’

भक्तपुर एचआईभी एड्स संक्रमणको जोखिममा रहे पनि यहाँ कति जना संक्रमित छन् भन्ने यथार्थ तथ्यांक कुनै पनि सरकारी तथा गैरसरकारी निकाय र संघसंस्थासँग छैन । भक्तपुर अस्पतालस्थित एआरटी सेन्टरका अनुसार अहिले जिल्लामा एचआईभी संक्रमितहरूमध्ये १५३ जनामात्रै रिपोर्टेड छन् । जसमध्ये पुरुष १००, महिला ४५, तेस्रो लिङ्गी ४ र बालबालिका ४ जना छन् ।

बाँकी संक्रमितहरू काठमाडौं, ललितपुर र काभ्रेका एआरटी सेन्टर पुग्ने गरेको बताइन्छ । संक्रमितलाई समाजमा भेदभाव र लाञ्छना हुने भएकाले अहिले पनि धेरैजसो एचआईभी संक्रमितहरू खुल्न नसकेको भक्तपुर अस्पतालस्थित एआरटी सेन्टरकी काउन्सिलर सृष्टि अर्याल बताउँछिन् ।

आफ्नो पहिचान खुल्ने डरले स्थानीय एचआईभी संक्रमितहरू स्थानीय एआरटीमा कममात्रै आउने गरेको उनको भनाइ छ ।

जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले पनि जिल्लामा एचआईभी एड्सको अवस्था भयावह रहेको बताइन् । उनले जिल्लास्थित सरोकारवाला निकायहरूबीच समन्वय र सहकार्य नगरिए भक्तपुर एचआईभी एड्सको उच्च जोखिमबाट उम्किन नसकिने औंल्याइन् ।

स्वास्थ्यको जिम्मा स्थानीय तहमा गएपछि एचआईभी एड्स र लागुपदार्थ दुर्व्यवसनको क्षेत्रमा कार्यक्रमहरू टुटेको र यसले एचआईभी संक्रमण तथा लागुपदार्थ दुर्व्यवसनको जोखिम थप बढाएको उनको भनाइ छ ।

भक्तपुरमा एचआईभी संक्रमण र लागुपदार्थ दुर्व्यसनको जोखि बढेपछि हालै सुरुवातले जिल्लास्तरीय समन्वय बैठक आह्वान गरेको थियो । उक्त बैठकमा सहभागी भक्तपुरका नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख, एचआईभी एड्स र लागुपदार्थ दुर्व्यसनको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधिहरूले मुलुक संघीयतामा गएसँगै स्वास्थ्य क्षेत्रमा भद्रगोल भएको र पहिले भएको स्वास्थ्य सेवा तथा कार्यक्रम टुटेको सुनाए ।

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापाको अध्यक्षतामा भएको बैठकले स्थानीय तहले विकास निर्माणसँगै स्वास्थ्य क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने निष्कर्ष निकालेको सुरुवातका कार्यकारी निर्देशक दिदियाले जानकारी दिए ।

उनका अनुसार जिल्लामा एचआईभी संक्रमित तथा लागुपदार्थ प्रयोगकर्ताहरूको यथार्थ तथ्यांक संकलन गर्न सरोकारवाला सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा बैठकले जोड दिएको छ ।

बैठकमा भक्तपुरमा यौनकर्मी महिलाहरूको क्षेत्रमा कार्य गर्दै आएको साट्क्टस् संस्थाका प्रतिनिधि रोशन सुवालले आफूहरूसँग २ हजार ९८३ यौनकर्मी महिला र ५ हजार ३३९ जना तिनीहरूका ग्राहकहरू सम्पर्कमा रहेको जानकारी दिए । उनले यौनकर्मी महिला र तिनका पुरुष ग्राहकहरूमा एचआईभी संक्रमण हुन नदिन विविध कार्यक्रम गर्दै आएको बताए ।

‘भक्तपुर काठमाडौं छिर्ने र बाहिरिने ट्रान्जिट प्वाइन्ट भएकाले सम्पर्कमा रहेका भन्दा बढी महिला यौनकर्मी र तिनका ग्राहकहरू रहेको हाम्रो अनुमान छ’, सुवालल भने, ‘यस क्षेत्रमा गम्भीरतापूर्वक नलागे हो भने एचआईभी संक्रमणको अवस्था भयावह हुने निश्चित छ ।’

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख थापाले विकास निर्माणमा जस्तै स्वास्थ्य क्षेत्रमा नगरपालिकाहरूले विनाभेदभाव बजेट र कार्यक्रम दिएर युवाहरूलाई लागुपदार्थ प्रयोग गर्ने जस्तो कुलतमा लाग्न र एचआईभी संक्रमण हुनबाट बचाउनुपर्ने बताए ।

उनले एचआईभी एड्स र लागुपदार्थ दुर्व्यसन रोकथाम गर्न जिल्ला चार वटा नगरपालिकाका मेयरहरूसँग समन्वय गर्ने वचन दिए ।

भक्तपुरका जिल्ला समन्वय अधिकारी राधाकृष्ण खतिवडाले संघीयता अघि जिल्ला तहमै एचआईभी एड्ससम्बन्धी समन्वय समिति रहेको स्मरण गर्दै अहिले पनि यस्ता समितिहरू आवश्यक भएको र यसको लागि स्थानीय तहहरूले योगदान गर्नुपर्ने बताए ।

त्यस्तै जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख खड्काले स्वास्थ्यको बजेट स्थानीय तहमा गएपछि घटेका एचआईभी एड्ससम्बन्धी कार्यक्रम तथा गतिविधि बढाउन आफूले पनि पहल गर्ने बताइन् ।