अष्ट्रेलियाको सियोन ट्राभल्स हवाई टिकट ठगी, अर्याल बेपत्ता, फिर्ता भएन नेपालीको करोडौं रकम 

अष्ट्रेलियाको सियोन ट्राभल्स हवाई टिकट ठगी, अर्याल बेपत्ता, फिर्ता भएन नेपालीको करोडौं रकम 

ठगिएको एक वर्ष वितिसक्दा पनि कतैबाट रकम फिर्ता नहुने देखेपछि पीडित थप पीडामा


मेलबर्न, अष्ट्रेलिया ।  

अष्ट्रेलियाको मेलबर्नबाट सञ्चालन गरिएको सियोन ट्राभल्सले आफ्नो सेवा आरम्भ गरेदेखि नै आकर्षक योजना फेसबुकमा पोष्ट गर्दै आएको थियो । अन्यत्र भन्दा सस्तोमा टिकट उपलब्ध गराउने उसको वाचा थियो । सुरुवातमा टिकट काट्नेहरुले यो वाचा अनुरुप टिकट पनि पाए । उडे, नेपाल पुगे अनि फर्किएर पनि आए । तर, योजना अर्कै थियो उनको । सन् २०२२ मार्च पछि टिकटमा समस्या आउन थाल्यो । टिकट लिएर विमानस्थलमा पुग्दा तपाईको टिकट नै छैन, क्यान्सिल भइसक्यो भन्ने गुनासो लिएर ग्राहकहरु सियोन ट्राभल्सका निर्देशक नानीराम अर्याललाई फोन गर्न थाले । 

नानीरामले मान्छे हेरि हेरि कसैलाई अर्को टिकट काटिदिने, कसैलाई पैसा फिर्ता गर्छु भन्ने त कसैको फोन नै नउठाउने क्रम सुरु गरे । यो क्रम सन् २०२३ डिसेम्बर ८ तारिखमा उत्कर्षमा पुग्यो । जतिबेला सियोन ट्राभल्सको अफिसियल वेवसाईट र फेसबुक पेजमा कम्पनी टाट पल्टिन लागेको र ग्राहकहरुको रकम विस्तारै फिर्ता गर्ने उल्लेख छ । सियोन ट्राभल्सको म्यानेजमेन्टको तर्फबाट भनिएको यो मेसेजपछि ठगी गर्ने गिरोहले योजनाबद्ध रुपमा नै ठगी गरेको धेरैले अनुमान गरे । यसअघि रामजी पौडेलले सञ्चालन गरेको एभरेष्ट भ्यू ट्राभल्सकै शैलीमा सस्तोमा टिकट भन्दै रकम जम्मा गरिएको थियो । त्यो रकम कहाँ गयो कसैलाई पत्तो छैन । साधारण मानिसहरुले बुझ्ने कुरा टिकटको मूल्य ग्राहकलाई भन्ने, उसले दिएको रकम आफ्नो डिष्ट्रिव्यूटरलाई आफ्नो नाफा कटाएर दिने हो । न त उधारो, न त कुनै तेश्रो पक्ष । तर, कम्पनी कसरी घाटामा गयो ? यसको जवाफ भने कतै पनि आएन । शंका बढ्न थाले । यसैलाई चिर्न डिसेम्बर ९ तारिखमा फेरि अर्को पोष्ट नानीराम अर्यालको नामबाटै आयो, जसमा आफु बाहेक यसमा अरु कुनै व्यक्ति वा कम्पनी संलग्न नभएको दावी गरिएको थियो । 

पीडितहरु एकपछि अर्को गर्दै जम्मा हुन थाले । यो संख्या बढेर १ सय भन्दा बढी पुग्यो भने रकम ४ लाख डलरको हाराहारी । सहयोग गर्न एनआरएन लगायतका संघसंस्था अघि आए । पीडितहरु वकिल खोज्न, विभिन्न प्रहरी कार्यालयमा निवदेन दिन, नियामक निकायमा पनि पुगे । 

एनआरएनको कार्यालयमा निज नानीराम अर्याललाई बोलाएर एनआरएन, पत्रकार र समूदायका अगुवाहरुले रकम के भएको हो ? कसरी फिर्ता गर्ने ? नेपालीले नेपालीलाई यसरी ठग्ने भनेर केरकार गर्यो । नानीरामले नियत खराब नभएको तर कम्पनी चलाउन नजानेर यस्तो भएको भन्दै केही समयको भाका मागे, पीडितहरुले समय दिन नसक्ने भनेपछि निजले आफ्नो काठमाडौंमा रहेको जग्गा, साथीभाई आफन्तसँग सरसापट गरेर डेढ लाख डलरसम्म जोरजाम गर्नसक्ने बताएका थिए । त्यतिबेला पीडितहरुको रकम पनि करिब त्यतिकै हाराहारीमा फिर्ता गर्न बाँकी देखिएपछि वकिलकै उपस्थितिमा निजले आफुले रकम लिएको स्वीकार गरेर फिर्ता गर्ने योजना पनि लिखित रुपमा नै दिएका थिए यसरी 

डिसम्बर १५ तारिखमा भएको यो सहमतिको पहिलो बुँदामा आइपुग्दासम्म निजले ३७ हजार डलर विभिन्न व्यक्तिहरुले क्रेडिट कार्ड र बैंकमार्फत ठगी भएको गुनासो गरेका आधारमा फिर्ता पाएको सूचि दिए । तर, आफुसँग पैसा नभएका कारण त्यसको व्यवस्थापनमा लागेको भनेर पहिलो महिनाको भाकामा नै फरक कुरा गरे । त्यसपछि केही समयसम्म सम्पर्कमा रहेका उनी सम्पर्क बाहिर पुगेका छन् । एनआरएन लगायतका संघसंस्थाले निजलाई तत्कालै वार्तामा आउन र ठगी गरेको रकम फिर्ता गर्न बारम्बार ताकेता गरेका छन् । तर, उनी सम्पर्क बाहिर नै छन् । फोन उठाउँदैनन् । उनी कहाँ बसेका छन् पत्तो छैन । 

६ महिनाभित्रमा सबै रकम फिर्ता गर्ने कबुल गरेका उनी अर्को डिसेम्बर आइसक्दा अर्थात् एक वर्ष हुनै लाग्दा सम्पर्क बाहिर छन् । रकम फिर्ता भएको छैन । नेपालीले नेपालीलाई नै विश्वासमा पारेर ठग्ने यो घटनाले यहाँका ट्राभल कम्पनीहरुप्रति नै विश्वासको संकट उत्पन्न गराइदिएको छ । नेपाली समूदायमा मात्र होइन अन्य समूदायमा पनि यस किसिमको ठगी भएका घटनाहरु सार्वजनिक भएका छन् । 

धेरैले यस प्रसंगमा उठाउने प्रश्न भनेको अष्ट्रेलियामा पनि यति सजिलै यति धेरै मानिसहरुको रकम ठगी गर्न सम्भव हुन्छ ? कानून भएको देशमा पनि नेपालीले किन असहाय महसूस गर्नुपरेको होला ? प्रश्न छ उत्तर छैन । 

यसबीचमा केही पीडितहरुले आफ्नो रकम बैंकमार्फत फिर्ता पाएका छन् । यहाँको उपभोक्ता अधिकार अन्तर्गत बैंकले जारी गर्ने क्रेडिट कार्डमार्फतको कारोबारमा ठगी भएको अवस्थामा त्यस्तो रकमको बिमा हुने भएका कारण उनीहरुले रकम फिर्ता पाएका हुन् । केहीले निजबाट नै पनि फिर्ता पाएको पीडितहरुले बताएका छन् । तर, यो संख्या नगण्य छ । अब प्रश्न उठ्छ । ४ करोडभन्दा बढी नेपाली रुपैयाँ ठगीको यो प्रकरण के यत्तिकै सेलाएको हो त ? एनआरएन अष्ट्रेलियाका प्रवक्ता बबिन मिश्र भन्छन् हामीले सामूदायिक संस्थाको रुपमा मध्यस्थता गरिदिएको हो । पीडितहरुलाई प्रहरीसमक्ष जान, पीडकलाई सँगै राखेर उनीहरुबीच कुराकानी गराउन हाम्रो भूमिका थियो । आर्थिक मामिलामा अष्ट्रेलियामा आफ्नै खाले कानून छन् । प्रहरीले पनि यसलाई सिभिल केस भनेर पन्छाउने प्रवृत्ति छ । यो केसमा मेलबर्न मात्र होइन, सिड्नी, ब्रिसबेन, एडिलेडसम्मका पीडित छन् । प्रहरीमा सबैतिर उजुरी भएको छ । अन्य नियामक निकायमा पनि उजुरी पुगेको छ । मलाई लाग्छ यो केश अब एनआरएनको दायराभन्दा बाहिर पुगेको छ । अझै पनि ठगी गर्नेलाई पीडित ग्राहकको सम्पर्कमा ल्याउने प्रयास जारी छ ।