ब्रिसबेन, अष्ट्रेलिया ।
ब्रिसबेनमा बन्न लागेको नेपाली सांस्कृतिक केन्द्र निर्माणको लागि सहयोग जुटाउने उद्देश्यले आगामी डिसेम्बर १४ तारिख एक सांगीतिक जमघट हुने भएको छ । क्वीएनसीसीको आयोजना र एनआरएन क्वीन्सल्याण्ड तथा नेप्लीज एशोसिएसन अफ क्वीन्सल्याण्डको सहकार्यमा हुन लागेको सांगीतिक जमघटमा सत्यराज आचार्य र स्वरुपराज आचार्य सहभागी हुनेछन् । विभिन्न गीत, गजलको माध्यमबाट उनीहरुले उपस्थित दर्शकलाई मनोरञ्जन दिने भएका छन् । नेपाली खाना पस्कने स्थानीय नेवा छें रेष्टुरेन्टले तीन सय जनालाई खाना उपलब्ध गराउने र यस कार्यक्रममा सहभागी भएवापत उठेको रकम सांस्कृतिक केन्द्र निर्माणमा जानेगरी सहमति गरिएको रेष्टुरेन्टका सञ्चालक निरञ्जन थापा र सुरेश खड्काले केविसीखबरलाई जानकारी दिए । सामाजिक दायित्वको भावनाले आफ्नै सांस्कृतिक केन्द्र बनाउने योजना अघि बढाउन सहयोग गरेको उनीहरुले बताएका छन् ।
नेपाली सांस्कृतिक केन्द्रका कोषाध्यक्ष सरोज क्षत्रीका अनुसार कार्यक्रममा सहभागी हुनका लागि टिकट बिक्री भइरहेको र करिब ५० प्रतिशत बिक्री भइसकेको जानकारी दिएका छन् ।
एनआरएन क्वीन्सल्याण्डका संयोजक शम्भु गैसीले कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन् । ्सांगीतिक माहोलसँगै कार्यक्रमअघि नेपाली सांस्कृतिक केन्द्रको वार्षिक साधारणसभा पनि सम्पन्न गरिनेछ । संस्थाका अध्यक्ष केशव शर्माले गीत, गजलको मनोरञ्जन लिँदै आफ्नो समूदायले गरेको होस्टेमा हैंसे गर्ने अवसर नगुमाउन समूदायका सदस्यहरुलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया