नेपाली बैंकरहरुसँग अष्ट्रेलियाका एनआरएनको अन्तरक्रिया

नेपाली बैंकरहरुसँग अष्ट्रेलियाका एनआरएनको अन्तरक्रिया


मेलबर्न, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले भ्रमणमा रहेको १७ सदस्यीय नेपाली बैंकरहरुको उच्चस्तरीय टोलीलाई आफ्नो केन्द्रीय कार्यालयमा स्वागत गर्दै अन्तरक्रिया सम्पन्न गरेको छ । बुधबार स्थानीय कोबर्गस्थित एनआरएनको केन्द्रीय कार्यालयमा आयोजना गरिएको अन्तरक्रियामा उपस्थित एनआरएनहरुले बैंकरहरुसँग नेपालमा सुरु गरिएको डलर एकाउन्ट, नेपालमा एनआरएनको लगानी, बैंकहरुले प्रदान गर्ने सुविधा लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

उक्त अवसरमा बोल्दै एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं भिक्टोरिया कोअर्डिनेटर हरि खड्काले आगामी सेप्टेम्बर १० तारिखमा गर्न लगिएको नेपाल फेष्टिभलमा सहभागी हुन नेपाली बैंकहरुलाई आह्वान गरेका थिए । उनले धेरै नेपालीलाई एकै थलोमा भेट्ने अवसरको रुपमा यसलाई लिन पनि आग्रह गरे । साथै उपाध्यक्ष खड्काले बैंकहरुसँगको सहकार्यमा कुनै एउटा कार्यक्रम तत्कालै सुरु गर्न तयार रहेको बताएका थिए ।

उक्त अवसरमा बोल्दै एनआरएन आईसीसीका उपाध्यक्ष दुर्गा आचार्य, एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष एवं पोलिसि ईन्ष्टिच्युटका प्रमुख एवं टोनु घोतानेले यस किसिमको अन्तरक्रियालाई निरन्तर अघि लैजानुपर्ने धारणा राखेका थिए ।

नेपालका बैंकरहरुको उच्चस्तरीय टोली बैंकिंग फाईनान्स एण्ड ईन्स्युरेन्स ईन्ष्टिच्युट अफ नेपालका प्रबन्ध निर्देशक डा. विनोद आत्रेयको नेतृत्वमा यतिबेला अष्ट्रेलियाको मेलबर्न भ्रमणमा छ । भ्रमण दलमा पूर्व सञ्चारमन्त्री एवं नेपाली काँग्रेसका नेता मोहन बस्नेत पनि सहभागी छन् । उक्त अवसरमा बोल्दै पूर्वमन्त्री बस्नेतले एनआरएनहरुको लगानीलाई सहजीकरण गर्न आफुले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपाली बैंकहरहरुको भ्रमण टोलीमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ, एनसीसी बैंककी निर्देशक सुमन जोशी, बैंकअफ काठमाण्डूका निर्देशक विजय कुमार श्रेष्ठ, सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रबन्ध निर्देशक डोलिन्द्रप्रसाद शर्मा लगायत विभिन्न बैंकका बोर्ड सदस्यहरु सहभागी छन् ।

सहभागीहरुको जिज्ञासाको जवाफ दिँदै हिमालय बैंकका अध्यक्ष श्रेष्ठले सुविधाका हिसाबले नेपाली बैंकहरुले निकै नै काम गरिसकेको भएपनि अझै केही सुधार गर्नुपर्ने विषयमा आफुहरु सदैव तत्पर रहेको धारणा राखेका थिए । श्रेष्ठले सरकारले ल्याएको डलर एकाउन्टको अवधारणाले बचतकर्ता एनआरएनहरुलाई पनि फाईदा पुग्ने र देशले पनि वैदेशिक मुद्राको सञ्चितिमा सहयोग पाउने भएका कारण गैरआवासीय नेपालीहरुले यसमा विशेष ध्यान दिनुपर्ने धारणा राखेका थिए ।

शुक्रबार भिक्टोरियास्थित अवैतनिक महावाणिज्यदुतको कार्यालयले भ्रमणमा रहेको टोलीको सम्मानमा रात्रीभोज सहितको बृहद अन्तरक्रिया कार्यक्रम समेत आयोजना गर्दैछ ।

सहभागीहरुको केही झलक