पहिलो लटमै एल्बो सरकारको मन्त्री बन्ने चार व्यक्ति को को हुन् ?

पहिलो लटमै एल्बो सरकारको मन्त्री बन्ने चार व्यक्ति को को हुन् ?


मेलबर्न, अष्ट्रेलिया ।

एन्थोनी एल्बानिजले सोमबार सपथ लिएसँगै जपानको भ्रमण गरिसकेका छन् । उनले त्यहाँ विश्व नेताहरुसँग मञ्च साट्दैछन् । उनी पहिलो विदेश भ्रमणमा जपान जानुअघि सपथ सकाएर आफुसँगै चार जना अन्य नेताहरुलाई पनि मन्त्री पदको सपथ दिलाएर हिंडेका हुन् । उनीसँगै विदेशमन्त्रालयको जिम्मेवारी सम्हाल्दै पेनी वोंग पनि जपान पुगेकी छिन् ।

चुनावी नतिजा पूर्ण रुपमा आइनसक्दै आफ्नो सुरुवाती क्याविनेटमा समेटेका नेताहरु को हुन् र उनले कस्तो जिम्मेवारी पाएका छन् ? यो धेरैका लागि चासोको विषय भएपनि अष्ट्रेलियाको राजनीति बुझ्नेहरुलाई सरकार र छायाँ सरकारको विषयमा जानकारी पक्कै पनि हुनुपर्छ । लेबर विपक्षी दलमा हुँदा पनि उसले आफ्नो छायाँ सरकार नै बनाएको थियो जसमा विभिन्न मन्त्रालयको जिम्मेवारी नेताहरुलाई दिइएको हुन्थ्यो । तिनले सम्बन्धित मन्त्रालयले गरेका काम कारवाही, नीति निर्माण लगायतमा ध्यानपूर्वक अध्ययन गर्दछन् र कुनै विरोध गर्नुपरेमा पनि त्यसको प्रशस्त ज्ञान राखेर मात्रै आफ्नो धारणा दिने गर्दछन् ।

एल्बो सरकारको विदेशमन्त्री बनेकी पेनी वोंग छायाँ सरकारमा पनि विदेश मन्त्रालयको नै जिम्मेवारीमा थिइन् । विगत ६ वर्षदेखि उनले छायाँ विदेशमन्त्री बनेर आफ्नो धारणा राख्दै आएकी थिइन् । सन् २००१ देखि नै संसदमा चुनिँदै आएकी उनले २००७ देखि १० बिचको लेबर सरकारमा वातावरण परिवर्तन र वित्त मन्त्रालयको जिम्मेवारी सम्हालीसकेकी छिन् ।

सोमबार सपथ लिएका अर्का महत्वपूर्ण व्यक्ति जीम चाल्मर्स हुन् । उनले पनि सन् २०१९ देखि नै छायाँ अर्थमन्त्री अर्थात् ट्रेजरर भएर काम गरिसकेका कारण यो सरकारमा ट्रेजररको जिम्मेवारी पाएका छन् । उनले करिब एक दशकपछि लेबर सकरारको तर्फबाट अष्ट्रेलियाको बजेट बनाउने अवसर पाउँदैछन् । उनी क्वीन्सल्याण्डका बासिन्दा हुन् भने सन् २०१३ मा पहिलो पटक संसदमा चुनिएका थिए । पहिलो पटक संघीय सरकारमा वित्त मन्त्रीको रुपमा काटे गालाघेरले पनि सपथ लिएकी छिन् ।

उनी सन् २०१९ देखि छायाँ सरकारमा यही मन्त्रालयको जिम्मेवारीमा थिइन् । उनको काँधमा अघिल्लो सरकारले विरासतको रुपमा छोडेर गएको अर्थतन्त्रलाई ही दिशा दिने चुनौती छ । यसअघि अष्ट्रेलियन क्यापिटल टेरेटोरीको मुख्यमन्त्री भइसकेकी उनी सन् २०१६ बाट संघीय राजनीतिमा हाम्फालेकी हुन् । दोहोरो नागरिकता भएका कारण मुख्यमन्त्रीको पदबाट राजीनामा दिन बाध्य भएकी उनी पछि फेरि सांसदको रुपमा चुनिएकी थिइन् ।

एल्बो सरकारमा रिचर्ड मार्लेस यतिबेला अष्ट्रेलियाको कार्यवाहक प्रधानमन्त्री बनेका छन् । उनले रोजगार मन्त्रालयको जिम्मा लिएका छन् । तर, राजनीतिशास्त्रीहरुले उनले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने आंकलन गरेका छन् । प्रधानमन्त्री एल्बानिजपछि उनले नै शक्तिशाली मन्त्रालय सम्हाल्ने अनुमान छ । किनकि पार्टीमा पनि उनी उपनेता हुन् । भिक्टोरियाका बासिन्दा उनी सन् २००७ मा मात्र दुर्य महिनाका लागि वाणिज्यमन्त्री पनि बनेका थिए ।