मेलबर्न, अष्ट्रेलिया ।
लेबर पार्टीले अधिकांश संघीय सिटमा अग्रता हासिल गर्दै कूल आवश्यक पर्ने ७६ सिटमध्ये ७४ मा विजयी भएसँगै प्रधानमन्त्री स्कट मोरिसनले हार स्वीकार गरेका छन् भने आगामी सरकार लेबरले एन्थोनी एल्बानिजको नेतृत्वमा बनाउने भएको छ । यद्यपि लेबरलाई आफ्नै बहुमतको सरकार बनाउने सफलता मिल्छ या उसले अन्य साना पार्टीहरुको साथ लिनुपर्ने हो यो भने समाचार तयार पार्दा स्पष्ट भइसकेको छैन ।
यससँगै प्रधानमन्त्री स्कट मोरिसनद्वारा लिबरल पार्टी नेताबाट राजीनामा दिएका छन् । गएको तीन कार्यकाल लगातार लिबरलले देशको बागडोर हाँकेको भएपनि आफ्ना पार्टी समर्थकलाई सम्बोधन गर्दै मोरिसनले अर्को तीन वर्षपछि फेरि जनताले आफ्नो गठबन्धनलाई नै चुन्ने दावी गरे । उनले सांसदका रुपमा आफु जनताकोबीच सदैव रहने बाचा गरेपछि उनी लिबरल पार्टीको नेतृत्वबाट राजीनामा दिने निश्चित भएको हो ।
आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै अष्ट्रेलियालाई एकताबद्ध बनाएर लैजाने एल्बानिजले बताएका छन् । उनले मतदाताहरुलाई धन्यवाद दिँदै हरेक दिन मतदाताको सेवामा खटिने प्रतिबद्धता जनाए । यसैबीच, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले एल्बानिजलाई ३१ औं प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका एन्थोनी एल्बानिजलाई बधाई ज्ञापन गरेका छन् ।
विगत २६ वर्षदेखि लगातार संघीय संसदमा रहेका एन्थोनी एल्बानिज अबको अष्ट्रेलियाको ३१ औं प्रधानमन्त्री बन्नेछन् । उनले अष्ट्रेलियाका चर्चित लेबर नेता जोन हवार्डको सरकारमा रहेर समेत काम गरेका थिए । अर्थशास्त्रका विद्यार्थी एल्बानिज राजनीतिमा विस्तारै अघि बढेका व्यक्ति हुन् ।
सन् २०१३ मा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उनले सम्हालीसकेका छन् । तत्कालीन प्रधानमन्त्री केभिन रडको पालामा उनी उपप्रधानमन्त्री थिए । ५९ वर्षीय एल्बानिजले लेबर पार्टीको नेतृत्वका लागि सन् २०१३ मै प्रयत्न गरेको भएपनि उनलाई पराजित गर्दै बिल सोर्टन निर्वाचित भएका थिए भने सोर्टनले दुई कार्यकाल लेबर पार्टीको नेताको रुपमा कार्य गरे । उनी अघिल्लो निर्वाचनमा स्कट मोरिसनसँग प्रधानमन्त्रीको दौडमा थिए ।
प्रतिक्रिया