सुविना श्रेष्ठको डकुमेन्ट्री ‘देवी’ न्युजिल्याण्डको ‘डक एज फेस्टिवल २०२४’मा

सुविना श्रेष्ठको डकुमेन्ट्री ‘देवी’ न्युजिल्याण्डको ‘डक एज फेस्टिवल २०२४’मा


काठमाडौं ।

पत्रकार सुविना श्रेष्ठद्वारा निर्देशित वृत्तचित्र ‘देवी’ न्युजिल्याण्डको डकुमेन्ट्री फेस्टिभलमा ‘डक एज फेस्टिवल २०२४’ मा एसिया प्रिमियरका लागि छनोट भएको छ।

पत्रकार श्रेष्ठले निर्देशन तथा बिष्णु घिमिरे ‘कल्पित’ले छायांकन गरेको वृत्तचित्र ‘देवी’ यही जुन १९ देखि जुलाई १४ सम्म क्राइस्टचर्च, अकल्यान्ड र वेलिङ्टनमा सिनेमाघरहरूमा हुने डक एज फेस्टिभलमा प्रदर्शनका छनोट भएको हो।

८० मिनेटको वृत्तचित्रले द्वन्द्वकालमा बलात्कारको सिकार भएका महिलाको न्यायका लागि माओवादी नेतृ देवी खड्काले गरेको संघर्ष र त्यसमा आउने उतारचढावलाई देखाएको छ।

सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा नेतृ खड्का १७ वर्षको उमेरमा पक्राउ परेकी थिइन्। माओवादीको अभियोगमा आफूलाई यातना दिइइएको र हिरासतमा बलात्कार गरेको विवरण उनले डकुमेन्ट्रीमा बताएकी छन्।

अवसाद र सामाजिक तिरस्कारको सिकार भएकी खड्का त्यसपछि विद्रोहमा होमिइन्। उनी माओवादीबाट सांसद समेत बनिन्। निर्देशक श्रेष्ठले यी पात्रमार्फत सशस्त्र युद्धमा बलात्कृत भएर बाँचेकाको मर्मस्पर्शी कथा देखाउँछ । यो फिल्मले एउटा अभियान सिर्जना गर्न सहयोग गर्ने अपेक्षा निर्देशक श्रेष्ठले लिएकी छन्।

यो डकुमेन्ट्री यसअघि क्यानडामा वर्ल्ड प्रिमियर भइसकेको छ।