अष्ट्रेलियालाई स्कटल्याण्डले दियो १८१ रनको लक्ष्य

अष्ट्रेलियालाई स्कटल्याण्डले दियो १८१ रनको लक्ष्य


काठमाडौं ।

आइसीसी टी–२० विश्वकप क्रिकेटमा स्कटल्याण्डले अष्ट्रेलियालाई १८१ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८० रन बनायो।

यसअघि नै सुपर एटमा पुगिसकेको अस्ट्रेलियालाई हराउँदै स्कटल्याण्ड पनि सुपर एटमा पुग्ने लक्ष्यमा रहेको छ। यो खेलमा अस्ट्रेलिया विजयी भएमा डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड सुपर एटमा पुग्ने छ। समूह चरणको अन्तिम खेलमा नामेवियालाई पराजित गरेको इंग्ल्याण्ड अहिले अष्ट्रेलिया र स्कटल्याण्डको खेलको नतिजा कुरेर बसेको छ।

टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डको सुरुआत राम्रो नभए पनि मिडिल अर्डरका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा अष्ट्रेलियालाई चुनौतीपूर्ण लक्ष्य दिन सफल भयो।

स्कटल्याण्डले पहिलो विकेट ३ रन हुँदा गुमाएको थियो। उसका मिचेल जोन्स व्यक्तिगत २ रन बनाएर आउट भएका थिए । त्यसपछि जर्ज मुन्से र ब्रान्डन म्याकमुलेनले ८९ रनको साझेदारी गर्दै अघि बढाए। मुन्से २३ बलमा ३५ रनको पारि खेल्दै म्याक्सवेलबाट आउट भएका थिए। मुन्सेले ३ छक्का र २ चौका प्रहार गरे।

ब्रान्डनलाई साथ दिन रिचे बेरिङटन आएका थिए। ११.२ ओभरमा टिमको स्कोर १११ रन हुँदा तेस्रो विकेट गुमेको थियो। यसबीचमा ब्रान्डनले ३४ बलमा ६० रनको अर्धशतकीय पारि खेलेर विदा भए। उनले ६ छक्का र २ चौका प्रहार गरेका थिए । ब्रान्डनलाई एडम जाम्पाले पाखा लगाएका हुन्।

यसैगरी १४.३ ओभरमा १३६ रन हुँदा म्याथ्यु क्रस १८ रन बनाएर आउट भए। उनले ११ बलमा समान एक छक्का र चौका प्रहार गरेका बेला म्याक्सवेलले आउट गरेका थिए। टिमले १६.५ ओभरमा पाँचौं विकेट गुमाउन पुग्यो।

यतिबेला स्कटल्याण्डको स्कोर १५२ रन पुगेको थियो। पाँचौं विकेटको रुप्मा मिचेल लिस्क ५ रन बनाएर पभेलियन फर्किए। अन्तिमसम्म क्रिजमा कप्तान रिचे बेरिङटन डटेका थिए। उनले ३१ बलमा नटआउट ४२ रन बनाउँदा २ छक्का र १ चौका प्रहार गरे। क्रिस ग्रेभ्सले १० बलमा ९ रनको नटआउट पारि खेले।

अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले ४ ओभरमा ४४ रन खर्चिएर २ विकेट हात पारे। यस्तै, एस्टन अगरले ४ ओभरमा ३९ रन दिएर १ विकेट हात पार्दा नाथन इलिसले ४ ओभरमा ३४ रन खर्चिएर १ विकेट लिए। त्यसैगरी एडम जाम्पाले ४ ओभरमा ३० रन दिएर १ विकेट लिए।