नेपाल–अफ्रिका फिल्म फेस्टिभलमा १० देशका २८ फिल्म

नेपाल–अफ्रिका फिल्म फेस्टिभलमा १० देशका २८ फिल्म


काठमाडौं ।

१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२४ का लागि नेपालसहित १० देशका २८ वटा फिल्म, वृत्तचित्र तथा सर्ट फिल्म चयन भएका छन्। कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह–आयोजनामा महोत्सव आगामी असार ७–९ गते काठमाडौंमा हुने भएको छ।

महोत्सवका लागि दक्षिण अफ्रिका, इजिप्ट, तान्जानिया, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमैका गरी ९ देशबाट ८ वटा अफ्रिकन फिल्म चयन भएका छन्। जसमा ‘फुल्स’ र ‘द चेस्लर’ गरी दुई फिल्म, ‘वी ह्याभ नेभर बिन किड्स’ र ‘ह्वाइट पोसन’ गरी दुई वृत्तचित्र छन्। यस्तै ‘डाइनिज’, ‘अफस्प्रिङ’, सर्भाइभर’ र ‘इग्नोरेन्स इज अ लाईफस्टाईल’ गरी चार सर्ट फिल्म छन्।

आयोजकका अनुसार यसपटक १५ भन्दा बढी मुलुकका चार दर्जनभन्दा बढी अफ्रिकन फिल्म, सर्ट फिल्म तथा वृत्तचित्र प्राप्त भएकोमा महोत्सवका लागि ८ वटा अफ्रिकन फिल्म छानिएका हुन्।

यस्तै महोत्सवमा छनोटमा परेका नेपाली तथा आदिवासी फिल्ममा ‘सरी मम,’‘काँडेतार,’‘गोर्खा वारियर,’‘सनाखत,’‘आफ्नै कर्म,’‘लोजिमा’ र ‘रित’ छन्। यस्तै वृत्तचित्रतर्फ ‘जर्नी टु गोक्यो,’‘काँचो वायु’ र ‘चेसिङ द ड्रिम’ छन्।

छनोटमा परेका नेपाली सर्ट फिल्ममा ‘सिगरेट,’‘आमा,’‘ऐना,’‘ढुकढुकी,’‘घटेरो,’‘हे दैव,’‘जुत्ता,’‘म्यारिज डे,’‘मातृत्व’ र ‘रोटेन ब्लड’ छन्। महोत्सवकी अध्यक्ष एवं कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनकी प्रिन्सिपल डा। मञ्जु मिश्रले नेपाल र अफ्रिकाको संस्कृति आदनप्रदानसँगै फिल्मबाट दुई फरक महाद्धीपलाई जोड्न १३ वर्ष अघिबाट यो महोत्सव निरन्तर आयोजना गर्दै आएको बताइन्।

महोत्सव निर्देशक डब्बु क्षत्रीले फेस्टिभलमा फिल्म प्रदर्शनसँगै अभिनय सम्बन्धी तीन दिनको विशेष कार्यशाला र अन्तरक्रिया कार्यक्रम पनि रहेको बताए।