रामोजी फिल्म सिटीका संस्थापक रामोजी रावको निधन

रामोजी फिल्म सिटीका संस्थापक रामोजी रावको निधन


मुम्बई ।

भारतको हैदराबादस्थित रामोजी फिल्म सिटीका संस्थापक रामोजी रावको शनिबार बिहान निधन भएको छ। रामोजी ग्रुपका संस्थापक समेत रहेका रावको शनिबार बिहान ४ः५० मा ८७ वर्षको उमेरमा निधन भएको हो। स्वास्थ्यमा समस्या आएपछि उनलाई गत जून ५ मा अस्पताल भर्ना गरिएको थियो।

रामोजी पछिल्ला दिनमा स्वास्थ्य समस्याबाट ग्रस्त थिए। उनको पार्थिव शरीरलाई रामोजी फिल्म सिटीस्थित उनको आवासमा लैजाने तयारी भइरहेको छ। जहाँ उनका परिवार, साथी र फ्यानले अन्तिम श्रद्धाञ्जी दिनेछन्।

रामोजीको वास्तविक नाम चेरुकुरी रामोजी राव थियो। सन् १९३६ नोभेम्बर १६ मा एक मध्यमवर्गीय परिवारमा जन्मेका रामोजीले व्यापार र फिल्म दुनियाँबाट नाम र दाम दुवै कमाए। उनले रामोजी ग्रपअन्तर्गत विश्वकै सबैभन्दा ठूलो फिल्म स्टुडियो रामोजी फिल्म सिटी, ईटीवी नेटवर्क, डल्फिन होटल, मार्गदर्शी चिटफण्ड र ईनाडू तेलुगु पत्रिका सुरुवात गरे।

उनको सम्पत्ति ४ दशमलब ७ अर्ब डलरभन्दा बढी छ। उनको उषाकिरण मुभिज नामक प्रोडक्सन हाउस पनि छ, जुन हाउसमार्फत उनले कैयौं सुपरहिट तेलुगू फिल्म दर्शकलाई दिएका छन्।

उनले सन् १९८४ बाट फिल्मको प्रोडक्सनको काम सुरु गरे। उनले ‘प्रतिघात’, ‘नुभे काभाली’, ‘भेडी’ र ‘थोडा तुम बदलो थोडा हम’ जस्ता ब्लकबस्टर फिल्म बनाएका छन्। उनले सन् २००० मा फिल्म ‘नूवी कवाली’ का लागि नेशल अवार्ड पनि जितेका थिए। उनी सन् २०१६ मा पद्म विभूषणबाट सम्मानित भए।

उनको परिवारमा श्रीमति रमा देवी र दुई छोरा छन्। उनको कान्छो छोरा चेरुकुरि सुमनको सन् २०१२ मा ल्यूकेमियाका कारण निधन भएको थियो।