आइसीसी टी–२० विश्वकपमा क्यानडाको पहिलो जित

आइसीसी टी–२० विश्वकपमा क्यानडाको पहिलो जित


काठमाडौं ।

आइसीसी टी–२० विश्वकप क्रिकेटमा क्यानडाले पहिलो जित निकालेको छ। न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा शुक्रबार भएको खेलमा क्यानडाले आयरल्याण्डलाई १२ रनले पराजित गरेको हो।

पहिलो खेलमा अमेरिकासँग पराजित भएको क्यानडाले आयरल्याण्डलाई पराजित गरेपछि सुपर एटको होड कायम राखेको छ। आयरल्याण्डको भने यो लगातार दोस्रो हार हो। आयरल्याण्ड यसअघि भारतसँग पराजित भएको थियो।

खेलमा आयरल्यान्डका कप्तान पाउल स्टर्लिङले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे पनि क्यानडाको सुरुवात खराब रह्यो तर अन्तिममा टोलीले १ सय ३७ रनको सम्मानजनक स्कोर बनाउन सफल भएको थियो। १३८ रनको लक्ष्यको जवाफमा आयरल्यान्डको टोलीले अन्तिम ओभरमा कडा संघर्ष गरे पनि टोली विजयबाट १२ रन मात्र टाढा रह्यो।

पहिले ब्याटिङको निमन्त्रणा पाएपछि क्यानडाका नवनीत धालिवालले ६ रन बनाए भने आरोन जोन्सनले १४ रनको योगदान दिए। ३ नम्बरमा ब्याटिङ गर्दै परगट सिंहले उत्कृष्ट १८ रन बनाए पनि उनी पनि चाँडै नै पभेलियन फर्किए।

क्यानडाले एक समयमा ५३ रनमा ४ विकेट गुमाएको थियो तर त्यहाँबाट निकोलस किर्टन र श्रेयस मोभाले ७५ रनको महत्वपूर्ण साझेदारी गरे। किर्तनले ३ चौका र २ छक्का सहित ४९ रन बनाए भने श्रेयसले ३७ रनको उत्कृष्ट पारी खेले। आयरल्याण्डका लागि क्रेग योङ र ब्यारी म्याकग्राथीले २–२ विकेट लिए।

१३८ रनको लक्ष्य पछ्याएको आयरल्यान्डका ओपनरहरूले टोलीलाई सुस्त सुरुवात गराए। पल स्टर्लिङ र एन्ड्रयु बालबर्नीले ५।४ ओभरमा २६ रन जोडे। यसपछि आयरल्यान्डले लगातार अन्तरालमा विकेट गुमायो र ५९ रनको स्कोरमा आयरल्याण्डका ६ ब्याट्सम्यान पभेलियन फर्किए।

मार्क एडेयर र जर्ज डकरेलले सातौं विकेटका लागि ६२ रनको साझेदारी गरे पनि अन्तिम ओभरमा मार्क एडेयर ३४ रन बनाएर आउट भए भने अर्को छेउमा डकरेलले ३० रन बनाएर अविजित रहे र आयरल्यान्डले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको हो। क्यानडाका लागि जेरेमी गोर्डन र डिलन हेलिगरले २–२ विकेट लिए भने जुनैद सिद्दिकी र साद बिन जाफरले एक–एक विकेट लिए।