आइसीसी टी–२० विश्वकपमा अमेरिकाको विजयी सुरुवात

आइसीसी टी–२० विश्वकपमा अमेरिकाको विजयी सुरुवात


काठमाडौं ।

घरेलु टोली अमेरिकाले आइसीसी टी–२० विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ। आयोजक राष्ट्रको हैसियतमा टी–२० विश्वकप खेलेको अमेरिकाले उद्घाटन खेलमा क्यानडामाथि ७ विकेटको शानदार जित दर्ता गर्यो। पछिल्लो समय उत्कृष्ट लयमा देखिएको अमेरिकाले १९५ रनको विशाल लक्ष्य १७।४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो।

अमेरिकालाई जिताउनका लागि आरोन जोन्सले नटआउट ९४ रनको पारि खेले। लक्ष्य पछ्याउने क्रममा सुरुआत भने राम्रो रहेन। २ बल फेस गरेका स्टेभन टेलर खाता नखोल्दै आउट हुँदा अमेरिकाले पहिलो विकेट गुमाएको थियो। त्यसपछि कप्तान मोनाक पटेल र एन्ड्रिस गोउसले पारि अघि बढाए।

मोनक पटेल १६ बलमा १६ रन बनाएर आउट हुँदा अमेरिकाले ६।३ ओभरमा ४२ रन बनाएको थियो। त्यसपछि एन्ड्रेस र आरोन जोनसनले उत्कृष्ट प्रदर्शन गरेपछि क्यानडाले दिएको विशाल लक्ष्य पनि अमेरिकाले सहज पूरा गर्नका लागि आधार तय भयो। यी दुई बीच ५८ बलमा १३१ रनको साझेदारी भएको थियो । एन्ड्रेस ४६ बलमा ६५ रन बनाएर क्याच आउट भएका थिए। उनले तीन छक्का र सात चौका प्रहार गरे । उनी आउट हुँदा अमेरिकाले १५।४ ओभरमा १७३ रन बनाएको थियो । त्यसपछि जोन्स र कोरि एन्डरसनले जिताए।

जोन्सले ४० बलमा ९४ रनको नटआउट पारि खेल्दा १० छक्का र चार चौका प्रहार गरे । एन्डरसन ५ बलमा ३ रनमा नटआउट रहे। क्यानडाका कलिम साना, डिलोन हेइलगर र निखिल दत्तले एक एक विकेट लिए।

डालासको ग्रान्डपेरी क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएको थियो।

क्यानडाले सुरुआत उत्कृष्ट गरेको थियो। पहिलो विकेटका लागि आरोन जोनसन र नभनित धलिवालले ४३ रनको साझेदारी गरेका थिए। पहिलो विकेटको रुपमा जोनसन १६ बलमा २३ रन बनाएर आउट भए। उनले पाँच चौका प्रहार गरे।

त्यसपछि क्रिजमा आएका प्रगत सिंह भने रनआउटको सिकार भए। उनले ७ बल फेस गर्दा ५ रन जोडेका थिए।

नभनित र निकोलस कृटोन मिलेर क्यानडाको पारि अघि बढाए। यी दुई खेलाडीबीच ३७ बलमा ६२ रनको साझेदारी भएपछि क्यानाडले सहजै १०० रन कटाएको थियो । तेस्रो विकेटको रुपमा नभनित अर्धशतकीय पारि खेल्दै आउट भए । उनले ४४ बल फेस गर्दा तीन छक्का र ६ चौका प्रहार गरे। १७.५ ओभरमा टिमको स्कोर १५९ रन हुँदा क्यानडाले चौथो विकेट गुमाएको थियो । निकोलस कृटोन ३१ बलमा ५१ रनको अर्धशतकीय पारि खेल्दै आउट भए।

उनले दुई छक्का र तीन चौका प्रहार गरे । अन्त्यमा श्रीयस मोभा र दिलप्रित बजवाले क्यानडाको टोलीलाई बलियो स्कोरमा लैजाने प्रयास गरेका थिए। तर, बजवा ५ बलमा ११ रन बनाएर रनआउट भएपछि क्यानडाले १९ औं ओभरमा पाँचौं विकेट गुमाउन पुग्यो। क्यानडाले १९ ओभरमा ५ औं विकेट गुमाउँदा १७३ रन बनाएको थियो।

क्रिजमा आएका डिलोन हेलिगरले श्रीयसलाई साथ दिए। यी दुई खेलाडीले ७ बलमा २३ रनको नटआउट साझेदारी गरेपछि क्यानडाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९४ रन बनायो। श्रीयस १६ बलमा ३२ तथा दिलप्रित ५ बलमा ११ रन बनाएर आउटआउट पारि खेले।

अमेरिकाका लागि अलि खान, हरमित सिंह र कोरी एन्डरसनले समान एक एक विकेट लिए।