आइसीसी टी–२० विश्वकप : वार्म अप खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित

आइसीसी टी–२० विश्वकप : वार्म अप खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित


काठमाडौं ।

आइसीसी टी–२० विश्वकप क्रिकेटको आधिकारिक वार्म अप खेलमा नेपाल क्यानडासँग पराजित भएको छ। ड्यालमा सोमबार भएको खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८३ रन बनाएको थियो। जवाफमा नेपाल १९.३ ओभरमा सवै विकेट गुमाएर १२० रनमा रोकिन पुग्यो।

लक्ष्य पछ्याउने क्रममा नेपालका सुरुआत भने खास रहेन। पहिलो विकेटका लागि कुशल भुर्तेल र आशिफ शेखले १८ रनको साझेदारी गरका थिए। पहिलो विकेटको रुपमा कुशल भुर्तेल व्यक्तिगत १० रन बनाएर आउट भए। उनले १६ बल फेस गर्दा २ चौका प्रहार गरे। त्यसपछि आशिफ र अनिल साहले पारि अघि बढाए। ९.४ ओभरमा ५७ रनको स्कोर हुँदा नेपालले आशिफलाई गुमायो। आशिफले २२ बलमा २२ रन बनाउँदा ३ चौका प्रहार गरेका थिए।

यसैगरी लगत्तै अनिल साह पनि पभेलियन फर्किए पछि नेपाली टोली दबावमा आयो। अनिलले १६ बलमा एक छक्का र दुई चौकाको मद्दतले २२ रन बनाएर ९।३ ओभरमा पभेलियन फर्किका थिए। कप्तान रोहित पौडेल चल्न सकेनन्। उनले तीन बल फेस गर्दा एक रन बनाएर आउट भएका थिए।

क्रिजमा रहेका कुशल मल्लले केही प्रयास गरे। उनले ३० बलमा ३७ रनको पारि खेल्दा दुई छक्का र दुई चौका प्रहार गरेका थिए। यसैगरी, सन्दी जोरा ६ रन बनाएर आउट हुँदा गुलसन झा खाता पनि खोल्न असफल भए। सोमपाल कामी ४, करण केसी र सागर ढकाल ५–५ रन बनाएर आउट भएका थिए। अभिनास बोहोरा खाता नखोल्दै आउट हुँदा नेपाल १९।३ ओभरमा अलआउट हुँदै स्कोरबोर्डमा जम्मा १२० रन बनायो।

क्यानडाका डिलोन हेलिगरले २.३ ओभरमा २० रन खर्चिएर ४ विकेट लिएर सनसनी मच्चाए। साद विन जाफर र जेरिमी गोर्डनले दुई दुई विकेट लिँदा कलिम साना र प्रगत सिंहले एक एक विकेट लिए। पहिला ब्याटिङ गर्दा क्यानडाका लागि निकोलस किर्तनले ३९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेलेका थिए।

रविन्द्रपाल सिंहले १७ बलमा १ चौका र ४ छक्काको सहयोगमा अविजित ४१ रन बनाए। नवनित धालीवालले २७ बलमा ३२ तथा प्रगत सिंहले १० बलमा १३ रन बनाए। नेपालका लागि अभिनास बोहराले २ तथा करण केसी, सोमपाल कामी, गुलसन झा, सागर ढकाल र ललित राजवंशीले समान १–१ विकेट लिए। नेपालले दोस्रो वार्म अप खेल अमेरिकासँग मे ३० मा खेल्नेछ।