ह्युस्टन हरिकेन्सविरुद्ध नेपाललाई २७ रनको जित

ह्युस्टन हरिकेन्सविरुद्ध नेपाललाई २७ रनको जित


काठमाडौं ।

आइसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि जित निकालेको छ। शनिवार भएको खेलमा नेपालले ह्युस्टन हरिकेन्सलाई २७ रनले पराजित गरेको हो।

जितका लागि १ सय २४ रनको लक्ष्य पछ्याएको अमेरिकन टोली ह्युस्टन हरिकेन्स १८।३ ओभरमा ९६ रनमा अल आउट भयो। ह्युस्टन जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए। यसैगरी इमरान खान जुनियर र लाहिरु मिलान्थाले समान १६ रन बनाए।

नेपालका तीब्र गतिका बलर करण केसीले ३ विकेट लिए। सोमपाल कामी र अभिनाष बोहराले समान २–२ विकेट लिए। कप्तान रोहित पौडेल,सागर ढकालले १–१ विकेट लिए। प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो।

कप्तान रोहितले ४० बलमा १ चौकासहित सर्वाधिक ३७ रन बनाए। कुशल भुर्तेल ३१ बलमा २ चौकासहित २३ रन जोडे। आसिफ शेख १, अनिल कुमार साह ४, कुशल मल्ल ६, गुलशन झा १४ रनमा आउट भए। सन्दीप जोरा र सोमपाल कामी समान १२ रनमा नट आउट रहे।

ह्युस्टनका इमरान शेख जुनियरले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए। जिआ शाहजादले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए। कोरी ड्राई र उस्मान शिनवारीले १–१ विकेट लिए। शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो।

पहिलो खेलमा ह्युस्टनसँग नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो। अब नेपालले आइसीसीको वार्मअप म्याच खेल्ने छ। विश्वकप जुन १ तारिखदेखि अमेरिका र वेस्टइन्डिजमा सुरुहुने छ। नेपालले जुन ४ तारिखमा नेदरल्याण्डससँग खेल्दै विश्वकपको यात्रा सुरु गर्ने छ।