हैदराबाद आइपीएलको फाइनलमा

हैदराबाद आइपीएलको फाइनलमा


काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आइपीएल) को यो सिजनको उपाधि भिडन्त सनराइजर्स हैदरावाद र कोलकाता नाइटराइडर्सबीच हुने भएको छ। कोलकाता पहिलो क्वालीफायरमा जित निकाल्दै फाइनलमा पुग्दा हैदरावादले दोस्रो क्वालीफायरमा राजस्थान रोयल्समाथि ३६ रनको जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो।

शुक्रबार राती भएको खेलमा पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १७५ रन बनाएको थियो। जवाफमा राजस्थानको टोलीले पूरा ओभर खेलेर ९ विकेट गुमाएर १३९ रनमा रोकिन पुग्यो।

राजस्थान रोयल्सले टस जितेर सनराइजर्स हैदरावादलाई पहिले ब्याटिङ गर्ने मौका दिएको थियो। पावर प्लेमा धेरै रन बनाउने टोली राजस्थानले शुक्रबार पावरप्लेमा नै अभिषेक शर्मा १२, राहुल त्रिपाठी ३७ र एडेन मार्कराम १ को विकेट गुमाएको थियो। ट्रेन्ट बोल्टले सबैलाई आफ्नो शिकार बनाएका थिए।

त्यहाँबाट ट्राभिस हेड ३४ र हेनरिक क्लासेन ५० ले स्कोर ९९ मा पुर्याए। १०औं ओभरमा हेड आउट हुनेबित्तिकै लगातार थप दुई विकेट खसेपछि स्कोर ६–१२० पुगेको थियो।

क्लासेनले शाहबाज अहमदसँग साझेदारीमा स्कोरलाई १५० भन्दा माथि पुर्याए र आफ्नो अर्धशतक पूरा गरे। उनको विकेट १९ औं ओभरमा खसेको थियो। त्यस्तै अन्तिम ओभरमा शाहबाज १८ रन बनाएर आउट भए। जयदेव उनाडकटले ५ रन बनाए । योसँगै प्याट कमिन्स पनि अविजित ५ रन जोडे।

राजस्थान रोयल्सका लागि बोल्ट र सन्दीप शर्माले सर्वाधिक ३–३ विकेट लिए। लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्सलाई चौथो ओभरमा पहिलो झट्का लागेको थियो। टम कोहलर क्याडमोर १० रन बनाएर प्याट कमिन्सको शिकार बने। यशस्वी जैसवालले केही उत्कृष्ट शट खेले तर २१ बलमा ४२ रन बनाएपछि उनी पनि आठौं ओभरमा ६५ रनको स्कोरमा आउट भए। राजस्थानको यहाँबाट विकेट पतन सुरु भयो र केही समयमै स्कोर ९२–६ बन्यो। यस क्रममा कप्तान सञ्जु सामसन १० रियान पराग ६ र रविचन्द्रन अश्विन ० रन बनाएर आउट भए।

प्रभावशाली खेलाडी सिमरोन हेटमायरले मात्र ४ रन बनाउन सके। झर्दै गएको विकेटको बीचमा ध्रुव जुरेलले एक छेउबाट जिम्मेवारी सम्हाल्दै आक्रामक ब्याटिङ गरे। तर, यो अवधिमा राजस्थानलाई १८ औं ओभरमा रोभम्यान पावेल ६ को रूपले अर्को ठूलो झटका लागेको थियो। तर, जुरेलले आफ्नो अर्धशतक पूरा गर्न सफल भए।

खेल अन्तिम ओभरमा पुग्दा आरआरलाई ६ बलमा ४२ रन चाहिएको थियो। तर ५ रन मात्रै आयो र राजस्थानले खेल हार्न पुग्यो। जुरेलले ३५ बलमा अविजित ५६ रन बनाए। सनराइजर्स हैदरावादका लागि शाहबाज अहमदले सर्वाधिक तीन तथा अभिषेक शर्माले दुई विकेट लिए। कप्तान कमिन्सले पनि एक विकेट आफ्नो नाम गराए।

फाइनल खेल अब आइतबार चेन्नाइमा हुने छ।