फिल्म ‘महाजात्रा’को ‘च्यारिटी शो’बाट संकलित रकम नेपाली पाठशालालाई सहयोग

फिल्म ‘महाजात्रा’को ‘च्यारिटी शो’बाट संकलित रकम नेपाली पाठशालालाई सहयोग


ब्रिजवेन अष्ट्रेलिया ।

नेपाली चलचित्र ‘महाजात्रा’को ‘च्यारिटी शो’बाट संकलित रकम नेपाली पाठशालालाई सहयोग गरिएको छ। ट्रिप्पल एन इन्टरटेनमेन्ट र सि इभेन्टले ब्रिजवेनमा फिल्म ‘महाजात्रा’को ‘च्यारिटी शो’ गरेर संकलित रकम नेपाली पाठशालालाई सहयोग गरेको हो।

मे ५ तारिख भएको ‘च्यारिटी शो’बाट संकलित चार हजार दुई सय अष्ट्रेलियन डलर नेपाली पाठशालालाई सहयोग गरिने ट्रिप्पल एन इन्टरटेनमेन्टका निर्देशक अमृत खत्रीले केबीसी खबरलाई जानकारी दिए। टिकटबाट उठेका एक हजार ५१० अष्ट्रेलियन डलर नेप्लिज एसोसियसन अफ क्वीन्सल्याण्ड (एनएक्वी) को खातामा पठाइसकेको र स्पोन्सरबाट प्राप्त हुने रकम सिधै एनएक्वीको खातामा जम्मा हुने उनले बताए।

उनले नेपाली पाठशालाको सहयोगार्थ गरिएको ‘महाजात्रा’को ‘च्यारिटी शो’ लाई सफलताका साथ सम्पन्न गर्ने क्वीन्सल्याण्डका नेपाली व्यवसायी, संघ–सस्था तथा फिल्म ‘महाजात्रा’लाई हेर्न हलसम्म पुग्ने सम्पूर्ण दर्शकलाई धन्यवाद दिएका छन्।

एनएक्वीको मातहतमा रहेको पाठशालाले ब्रिजवेनमा रहेर हुर्किँदै गरेको पछिल्लो नेपाली पुस्तालाई नेपाली भाषा कला संस्कृतिबारे पढाउँदै आएको छ। पछिल्लो पुस्ताले सामान्य नेपाली भाषा बोल्न र लेख्न सकोस् भनेर नै पाठशालाको स्थापना गरिएको हो।