अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित

अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित


काठमाडौं ।

अभ्यास खेलमा नेपाली क्रिकेट टिम ४९ रनले विजयी भएको छ । विश्वकप क्रिकेटको तयारीमा रहेको नेपालले गयराति भएको खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध लगातार दोस्रो जित निकालेको हो।

पार्कहिल मैदानमा नेपालले पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो। जवाफि व्याट्रि गरेको विनवार्डसले १८।४ ओभरमा १३० रनमै समेटियो।

नेपाले पहिला ब्याटिङ गर्दा अनिल साहले २७ बलमा चार चौका र चार छक्कासहित ५० रनको अर्धशतकीय पारि खेले। यस्तै, कप्तान रोहित पौडेलले ४१ रन बनाउँदा कुशल भुर्तेलले ३८ रन जोडेका थिए। यसैगरी दीपेन्द्रसिंह ऐरीले २६ रन जोड्दा प्रतिश जिसीले ६ रनको योगदान गरे। सन्दीप जोराले २ तथा गुल्सन झाले एक रन बनाएका थिए। सोमपाल कामीले ३ तथा अविनाश बोहोराले खाता नखोली नटआउट रहे। शुरुमै आशिफ शेखलाई गुमाएको नेपाललाई भुर्तेल र साहले राम्रो साझेदारी गरेका थिए।

विनवार्डसका निकोलस रेडहड, साडरक डेसकार्ट र डेरिन नेडले दुई दुई विकेट लिए। १८० रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको विनवार्डसले सुरुआत राम्रो गरेपनि मध्यक्रम फ्लप भएको थियो।

पहिलो विकेटका लागि किमानी मेलियुस र अकिम अगस्टीले ७३ रुनको साझेदारी गर्दै नेपाली बलरमाथि हावी भएका थिए। उक्त साझेदारीलाई नेपालका कुशल भुर्तेलले तोडेका थिए । उनले सन्दीप जोराबाट क्याच आउट गर्दै मेलियुसलाई आउट गराए। उनी २७ बलमा ५० रनको पारि खेलेर पभेलियन फर्किए। त्यसपछि खेलमा फर्किएको नेपालले अन्य खेलाडीलाई हावी हुन दिएन। दोस्रो सर्वाधिक रनको रुपमा अगस्टीले १८ बलमा २५ रन बनाए। उनलाई गुल्सन झाले रोहित पौडेलबाट क्याच आउट गरेका थिए। लेरी एडवार्डले १४ बलमा १२ रन बनाउँदा डिलोन डगलसले ८ बलमा ११ रन जोडे।

नेपालका गुलसन झा र कुशल भुर्तेलले तीन तीन विकेट लिए। गुलसनले ३ ओभरमा १८ रन खर्चिदा भुर्तेलले ३ ओभरमा १२ रन दिएका थिए। यस्तै, सोमपाल कामी, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहोराले समान एक एक विकेट लिए।

यसअघि पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो। नेपालले अब शनिबार तेस्रो अभ्यास खेल खेलेर अमेरिका प्रस्थान गर्ने छ। अमेरिकाको ह्युस्टनमा नेपालले प्रशिक्षण गर्ने व्यवस्था मिलाइएको छ।