बलात्कार मुद्दामा सन्दीपलाई उच्च अदालतको सफाई

बलात्कार मुद्दामा सन्दीपलाई उच्च अदालतको सफाई


काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेला उच्च अदालत पाटनले सफाई दिएको छ। बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर्याएका लामिछानेलाई उच्च अदालत पाटनले बुधबार सफाइ दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो। यससँगै सन्दीप लामिछानेका लागि विश्वकप खेल्ने बाटो खुलेको छ। नेपाललाई विश्वकपमा पुर्याउन उनको महत्वपुर्ण भूमिका थियो।

के थियो घट्ना ?
स्याङ्जामा जन्मिएका २३ वर्षीय सन्दीप लामिछानेले क्रिकेट करियर १९ वर्षमुनिको (यू १९)को टोलीबाट गरेका थिए। नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान रहेकै बेला लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी दर्ता भएको थियो। भदौ ५ गते काठमाडौं तीलगंगाको एक होटलमा बलात्कार गरेको भन्दै परिवर्तित नाम गौशाला–२६ ले जाहेरी दिएकी थिइन्।

भदौ २२ गत उजुरी दर्ता गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो। भदौ २३ गते काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो । आफूविरुद्धको जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन लिग खेल्न जमैका पुगेका थिए। पक्राउ पुर्जी जारी भएको लामो समयसम्म पनि उनी स्वदेश नफर्किएपछि सन्दीपका नाममा ‘रेड कर्नर नोटिस’ जारी गरिएको थियो । रेड कर्नर नोटिस जारी भएपछि स्वदेश फर्कने क्रममा विमानस्थलबाटै पक्राउ परेका थिए लामिछाने।

नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय टोलीबाट निलम्बन गरेको बेला उच्च अदालत पाटनले २० लाख धरौटीमा लामिछानेलाई रिहा गर्ने आदेश दिएको थियो। २०७९ पुस २८ गते उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको संयुक्त इजलासले जिल्लाको आदेश उल्टाएको थियो। उच्च अदालतको आदेशपछि क्यानले सन्दीपलाई राष्ट्रिय टोलीमा फर्काएको थियो । तर, विदेश जान भने रोक लगाएको थियो।

सन्दीपले लिग टुकोलागि विदेश जान अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए। २०७९ फागुन १५ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले धरौटीमा छोड्ने उच्च अदालतको आदेश सदर गर्दै सशर्त विदेश जाने अनुमति दिएको थियो।

पछि पुस १३ गते काठमाडौं जिल्ला अदालतले उनलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। पुस २५ गते उनीमाथि सजाय तोकिएको थियो। जिल्ला अदालत काठमाडौंले उनलाई आठ वर्ष जेल सजाय सुनाएको थियो।

जिल्ला अदालतको फैसलामा त्रुटि भएको भन्दै लामिछानेले पुनरावलोकन गएका थिए। त्यस्तै सरकारी वकिलको कार्यालय समेत पीडित नाबालिग रहेको र सजाय थप गर्नुपर्ने भन्दै उच्च अदालत पुगेको थियो।

नेपाली क्रिकेटमा सन्दीपको आगमन
मध्यम परिवारमा जन्मिएका सन्दीप लामिछानेका बुबा चन्द्र नारायण भारतीय रेलवेमा काम गर्थे। चार कक्षासम्म भारतमै अध्ययन गरेका सन्दीपमा क्रिकेटको भूत चड्यो । नेपाल फर्किएपछि लामिछाने पूर्वी नवलपरासीको राजहरमा बहिनीको घरमा बसेर पढ्न थाले। सानैदेखि क्रिकेटमा रुचि चाख्ने लामिछाने सपना पुरा गर्न भन्दै चितवन क्रिकेट एकेडेमीमा भर्ना भए।

‘लेग स्पिन’ बलिङ गर्ने सन्दीपको बलिङ देखेर सबै आश्चर्य चकित पर्थे। उनको क्रिकेटप्रतिको लगाव यस्तो थियो कि घरबाट १८ किलोमिटर टाढा रहेको एकेडेमीसम्म हिँड्दा कहिल्यै थाकेनन्। चितवन क्रिकेट एकेडेमीका प्रशिक्षक तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान राजु खड्कालाई सन्दीपको प्रतिभा चिन्न धेरै समय लागेन।

उनलाई यु–१९ राष्ट्रिय टोलीमा समावेश गर्न राजुले काठमाडौं ल्याए। तर उनी टोलीमा अटाउन सकेनन् । राजुको प्रयास विफल भयो । त्यतिबेला नेपाली क्रिकेट टोलीका प्रशिक्षक थिए पुबुदु दशनायके।

एक कार्यक्रमका लागि चितवन पुगेका दशनायकेले उनको बलिङमा जादु देखे र लगत्तै काठमाडौं ल्याएर प्रशिक्षण दिन थाले । भाग्य र प्रतिभाले साथ दिएका सन्दीपले टोलीमा स्थान बनाउन धेरै समय लागेन।

सन् २०१६ को जनवरीमा बंगलादेशमा यू–१९ क्रिकेट विश्वकप आयोजना भयो । सन्दीपले टोलीमा स्थान पक्का गरे। उक्त प्रतियोगितामा नेपालको यात्रा क्वाटरफाइनलमा टुंगिएको भएपनि सन्दीपले आफूलाई प्रमाणित गरिसकेका थिए।

उनले आयरल्याण्ड विरुद्ध ह्याट्रिक सहित प्रतियोगितामा पाँच विकेट लिए र ६ खेलमा १४ विकेट लिएर नेपालको सबैभन्दा बढी विकेट लिने खेलाडी बने। यो प्रदर्शन सन्दीपका लागि राष्ट्रिय टोलीको ढोका खोल्न पर्याप्त थियो। तीन महिनापछि कीर्तिपुर मैदानमा भएको आईसीसी विश्वकप लिग च्याम्पियनसिपमा उनी राष्ट्रिय टोलीको जर्सी लगाएर उपस्थित भए। उनले १६ अप्रिलमा नामिबियाविरुद्ध डेब्यु गरेका थिए।

यो खेलमा उनले पूरा १० ओभर बलिङ गर्दै एक विकेट लिए। त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन। उनलाई ‘स्यान्डी’ भनेर चिनिन थाल्यो जसले उनलाई राष्ट्रिय टोलीका ‘विकेट लिने’ बलरहरूमा स्थायी स्थान बनायो।

उनलेआफ्नो नाममा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो एक सय विकेटको विश्व कीर्तिमान बनाए। यसरी सन्दीप लामिछानेको क्रिकेट यात्रा अघि बढेको थियो।