नेपाली फिल्म ‘रावायण’का गीतमा भारतीय गायक-गायिकाको स्वर

नेपाली फिल्म ‘रावायण’का गीतमा भारतीय गायक-गायिकाको स्वर


काठमाडौं ।

छायांकनरत फिल्म ‘रावायण’मा रहेका तीन गीत भारतमा रेकर्ड गरिएको छ । फिल्मको शीर्ष गीत, रोमान्टिक गीत र आइटम गीत रेकर्ड गरिएको हो । शीर्ष गीतमा भारतीय गायक नकासा अजीजको स्वर छ ।

नकासाले बलिउड फिल्म ‘बजरंगी भाइजान’को ‘सेल्फी ले ले रे’, ‘फेन्टम’को ‘अफगान जलेबी’, ‘आर राजकुमार’को ‘सारी के फल से’, ‘ट्युबलाइट’को ‘नाँच मेरी जान’ र ‘उचाइँ’को ‘केटी को’ जस्ता गीतमा स्वर दिएका छन् ।

त्यस्तै फिल्मको रोमान्टिक गीतमा कुनाल गान्जावालाको स्वर छ । कुनालले बलिउड फिल्म ‘मर्डर’को ‘भिघे ओठ तेरे’, ‘पार्टनर’को ‘दुपट्टा तेरा’, ‘शीसा’को ‘यार को मेने’, ‘काल’को ‘काल धमाल’, ‘धुम’को ‘सलामे’लगायतका चर्चित गीत गाएका छन् ।

त्यस्तै अर्को गीतमा गायिका सोनु कक्करको स्वर छ । सोनुले ‘रावायण’का लागि आइटम गीत गाएकी हुन् । सोनुले गाएका बलिउड फिलम ‘दम’ को ‘बाबु जी जरा धिरे चलो’, ‘ब्लू’को ‘ब्लू थिम’, ‘जिष्म २’ को ‘ये कसुर’, ‘क्वीन’ को ‘लण्डन’ लोकप्रिय छन् ।

तीनवटै गीतमा भारतीय संगीतकार रेवन सिंह र निरज सिंहको संगीत छ । संगीतकार रेवन भारतमा रुचाइएका संगीतकार, गायक, गीतकार, ब्याकग्राउण्ड स्कोरर, वाद्यवादक हुन् ।्

भारतीय चर्चित संगीतकार कैलाश खेरको स्टुडियो कैलाश खेर स्टुडियोका संगीतकार, साउण्ड इञ्जिनियर र मिक्सिङ इञ्जिनियर निरज २० वर्ष बढी समयदेखि बलिउडमा संगीत क्षेत्रमा सक्रिय छन् । मुम्बई विश्वविद्यालयबाट पास आउट रहेका रेवनले बलिउडका चर्चित गायकगायिका र संगीतकार, साउण्ड इञ्जिनियर र मिक्सिङ इञ्जिनियरसँग काम गरिसकेका छन् ।

उनले रेडियो मिर्ची म्यूजिक अवार्ड, ग्लोबल इण्डियन म्युजिक एकेडेमी अवार्ड(गीमा) र इण्डियन रेकर्डिङ आर्टस् अवार्ड(इरा) लगायतका अवार्ड जितेका छन् । फिल्मका निर्देशक सुदर्शन थापाले नेपालमा संगीत तयार पारेर भारतमा गई गीत रेकर्ड गर्ने चलन भइरहँदा आफूले भने सबै काम भारतमा नै गरेको बताए ।

‘अहिलेसम्म नेपालमै संगीतको सबै काम सकेर भारतमा गई गीत रेकर्ड गराउने चलन थियो । तर हामीले मिक्सिङ, मास्टरिङदेखि संगीतका सबै काम भारतमा नै गरेर भारतीय गायकगायिकमार्फत गीत रेकर्ड गरेका हौं । जसले गर्दा संगीतको गुणस्तर पनि उत्कृष्ट हुन्छ’, उनले भने ।

फिल्ममा पूजा शर्मा, पल शाह, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल र प्रदीप ढकाललगायतको अभिनय छ ।

फिल्ममा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको एक्सन छ । फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।