पल शाह भन्छन् : ‘पुजार सार्की’मा फरक, जटिल र महत्वपूर्ण भूमिकामा छु’

पल शाह भन्छन् : ‘पुजार सार्की’मा फरक, जटिल र महत्वपूर्ण भूमिकामा छु’


काठमाडौं ।

अभिनेता पल शाह यतिबेला फिल्म ‘रावायण’को छायांकनका लागि जनकपुर र सर्लाहीमा छन्। उनी अभिनित फिल्म ‘पुजार सार्की’ आगामी जेठ १० गतेबाट दर्शकमाझ आउँदैछ। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्मको ट्रेलरमा निर्देशकको दृष्टिकोणबाट आफूलाई सृजनशील तवरले देखाइएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘निर्देशकको आफ्नो दृष्टिकोणबाट ट्रेलरमा मलाई जति देखाउनु भएको छ, त्यो निकै सृजनशील र कौतुहलता जगाइराख्ने प्रकृतिको छ। फिल्ममा मेरो भूमिकाबारे चासो राख्नुहुने सबैमा जेठ १० गतेदेखि नेपालभरका दर्शकहरूलाई फिल्म हलमा चुले निम्तो दिन चाहन्छु । हामी हलमै भेटौँला है।’

उनले फिल्मको ट्रेलरलाई एक दिनमा नै दशलाख पटक हेरेकोमा खुसी व्यक्त गरेका छन्। ‘म अर्को फिल्म ‘रावायण’को छायाङ्कनमा जनकपुर र सर्लाहीमा व्यस्त रहेका कारण सो समारोहमा निकै कोसिसका बाबजुद उपस्थित हुन सकिनँ, त्यसको लागि क्षमा चाहन्छु,’ शाहले लेखेका छन्, ‘मैले यो चलचित्रमा अन्य चलचित्र भन्दा निकै फरक, जटिल र महत्वपूर्ण भूमिकामा अभिनय गरेको छु। ट्रेलरबाट तपाईँले मेरो अभिनयबारे राख्नुभएको चासो र समर्थनप्रति आभारी छु।’

उनले आफूसहित सहकर्मी अभिनेताहरू आर्यन सिग्देल र प्रदीप खड्काको एक तस्बिर शेयर गरी प्रशंसकलाई सम्बोधन गर्ने क्रममा लेखेका छन्, ‘मेरा प्रशंसकहरूबाट पाइरहेको प्रतिक्रिया र गुनासाहरू मैले हेरिरहेको छु। यो सबैको लागि म धन्यवाद व्यक्त गर्न चाहन्छु। ‘पुजार सार्की’मा मेरो छोटो भूमिका रहेको भन्ने फ्यानहरूको गुनासोबारे म यो प्रस्ट पार्न चाहन्छु कि यो चलचित्रमा मेरो स्क्रिन टाइम केही मात्रामा थोरै होला तर अन्य कलाकारहरूको जस्तै महत्वपूर्ण भूमिका भने रहेको छ।’

दिनेश राउतको निर्देशन रहेको फिल्ममा पलसँगै आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको अभिनय रहेको छ। यसका लेखक विकास सुबेदी हुन् भने सुवास भुसालले निर्माण गरेका हुन्।