प्रधानमन्त्री देउवा बनारसमा, उत्तरप्रदेशका मुख्यमन्त्रीद्वारा स्वागत

प्रधानमन्त्री देउवा बनारसमा, उत्तरप्रदेशका मुख्यमन्त्रीद्वारा स्वागत


काठमाडौं, २१ चैत । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बनारस पुग्नुभएको छ । उहाँलाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नुभयो । बनारसमा रहँदा प्रधानमन्त्री देउवाले काशी विश्वनाथको पूजाअर्चना गर्ने कार्यक्रम छ । साथै प्रधानमन्त्री देउवाले बनारसमा रहेको समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजाअर्चना गर्नुका साथै ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गर्नुहुने छ ।
बनारस जानेबेला प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी विमानस्थलमा भारतको बाह्य मामिला मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए । बिशेष विमानमा बनारस पुगेका देउवा आजै नयाँ दिल्ली फर्किएर काठमाण्डौ आउने तालिका छ । तीन दिने औपचारिक भ्रमणका लागि गएको शुक्रबार भारत पुगेका प्रधानमन्त्री देउवाले हिजो समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नु भएको थियो । भेटको क्रममा देउवाले सीमा समस्या समाधानका लागि मोदीलाई अनुरोध गर्नु भएको थियो । यस्तै, हिजो दुवै देशका प्रधानमन्त्रीले जनकपुर–जयनगर रेल सेवा र सोलु कोरिडोर संयुक्त रुपमा भर्चुअल माध्यमबाट उदघाटन गर्नु भएको थियो ।