काठमाडौं ।
विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको सर्टफिल्म ‘भाउ (कस्ट अफ लिभिङ)’ कान्तिपुर सिनेमाज ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक भएको छ । फिल्मले कवाडीवालाको कथा प्रस्तुत गरेको छ।
तराईबाट काठमाडौं आएर कवाडीखानामा काम गर्दै जीवन गुजाराको लागि संघर्ष गरिरहेको एउटा मधेसी समुदायको सामान्य परिवार र राजधानीमा घर भएको दुई वर्गको अन्तरलाई फिल्ममा देखाइएको छ।
काठमाडौं र भक्तपुरमा छायांकन गरिएको ‘भाउ’मा कवाडीवालाको भुमिका कलाकार सुवास गजुरेलले निर्वाह गरेका छन्। मोहन अभिलाषीको लेखन र निर्देशन रहेको फिल्ममा सुजिता शाह, रेनुका कार्की र सुमन थापाले अभिनय गरेका छन्। फिल्ममा नारायण जिसीको छायांकन, करण साउदको सहायक निर्देशन छ।
अंग्रेजी सबटाइटलसहित मैथिली र नेपाली भाषा प्रयोग भएको फिल्ममा भाषा अनुवाद राम श्रेष्ठ र आर के मेहेताले गरेका छन्। नरेन भट्टराईको प्रोडक्सन रहेको फिल्ममा गणेश बिसीको सम्पादन र राकेश दाहालको कलरिङ छ।
‘भाउ’ इटालीको फेस्टिभल देल सिनेमा दि सेफलुको मनोनयन र जिम्वावेको भर्सिटी फिल्म एक्स्पोमा होनोरेवल मेन्सनमा परेको थियो। अमेरिकाको स्टुडेन्ट वल्र्ड इम्प्याक्ट फिल्म फेस्टिभल, जापानको पाँचौ मेइहोडो इन्टरनेशनल युथ भिजुअल मिडिया फेस्टिभल, नेपालको पाँचौ नेपाल अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव र बेलायतको दुई फिल्म फेस्टिभलमा छनोटमा परेको थियो।
प्रतिक्रिया