फिल्म ‘बोक्सीको घर’ को अष्ट्रेलिया वितरणको अधिकार एमएसएम इन्टरटेनमेन्टलाई

फिल्म ‘बोक्सीको घर’ को अष्ट्रेलिया वितरणको अधिकार एमएसएम इन्टरटेनमेन्टलाई


मेलबर्न अष्ट्रेलिया ।

अभिनेत्री केकी अधिकारीको प्रस्तुतिमा निर्मित फिल्म ‘बोक्सीको घर’ अष्ट्रेलियामा वितरण तथा प्रदर्शनको अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ।शुक्रबाट नेपाल भर प्रदर्शनमा आएको फिल्म ‘बोक्सीको घर’ को अष्ट्रेलियामा पनि प्रदर्शन हुने पक्का भएको हो। 

अष्ट्रेलिया वितरण तथा प्रदर्शनको अधिकार पाएको एमएसएम इन्टरटेनमेन्टले अष्ट्रेलियएका विभिन्न सहरमा फिल्म ‘बोक्सीको घर’लाई प्रदर्शनमा ल्याउने भएको छ। अष्ट्रेलियाको सिड्नी, क्वीन्सल्याण्ड, तास्मानिया, क्यानबेरा र एडिलेडलगायतका सहरमा फिल्मको प्रदर्शन गरिने एमएसएम इन्टरटेनमेन्टले जनाएको छ।

नेपाल प्रदर्शनको पहिलो दिन फिल्म ‘बोक्सीको घर’ले उत्साह जनक प्रदर्शन गरेको छ। अभिनेत्री केकी अधिकारी लगायतका कलाकारहरु काठमाडौँका हलहरुमा पुगेर दर्शकसँग खुसी साटेकी थिइन्। शुक्रबार ५६ शो दिएको क्यूएफएक्सले शनिवार र आइतबारका लागि ३४ शो बढाएर ९० पुराएको छ। नेपालमा सकरात्मक प्रतिक्रिया पाएको फिल्म ‘बोक्सीको घर’को विदेशमा पनि माग बढेको निर्माण पक्षले जनाएको छ। फिल्म सुपरहिट भइसकेको निर्माण पक्षले दाबी गरेको छ। 

सत्य घटनाबाट प्रेरित फिल्म मण्डला नाटक घरमा मञ्चन गरिएको सोही शीर्षकको नाटकबाट तयार गरिएको हो। फिल्ममा शीर्ष पात्रमा केकीले अभिनय गरेकी छन्। सुलक्षण भारतीद्वारा निर्देशित फिल्ममा केकीसँगै रमा थपलिया, सुपला सापकोटा, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला आदिको पनि अभिनय रहेको छ। फिल्ममा निर्देशक बद्री अधिकारी निर्माता र राज घिमिरे कार्यकारी निर्माता रहेका छन् भने लाइन प्रोड्युसर रुपक अधिकारी हुन्।