राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज


काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा रात्रिभोज आयोजना गरेका छन्।

राजधानीको ताहाचलस्थित होटल सोल्टीमा मंगलबार साँझ आयोजित रात्रिभोज समारोहमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो। रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, सांसद एवं उद्योगी व्यापारीहरुको सहभागिता थियो।

राष्ट्रपति पौडेलको निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा कतारका अमिर शेख तमिम विन हमाद अल थानी मंगलबार नेपाल आइपुगेका हुन्। अमिर थानीलाई राष्ट्रपति पौडेलले विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए।

कतारका अमिर विमानस्थलबाट सिधै राष्ट्रपति भवन शीतल निवास गएका थिए। शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबीचको प्रतिनिधिमण्डलसहित द्विपक्षीय भेटवार्ता समेत भएका थियो।