माल्दिभ्समा आमनिर्वाचन आज, मइज्जुको ‘इन्डिया आउट’ अभियानको परीक्षा

माल्दिभ्समा आमनिर्वाचन आज, मइज्जुको ‘इन्डिया आउट’ अभियानको परीक्षा


वैशाख ९, एजेन्सी । माल्दिभ्समा आइतबार आमनिर्वाचन हुँदैछ। ९३ सदस्यीय पिपुल्स मजलिस् अर्थात् संसद्को निर्वाचनमा करिब तीन लाखले मतदान गर्ने अपेक्षा गरिएको छ। यो निर्वाचनलाई राष्ट्रपति मोहममद मुइज्जुको चीनतर्फको झुकाव र ‘इन्डिया आउट’ अभियानको परीक्षाकोरुपमा हेरिएको छ।

गतवर्ष राष्ट्रपतिको चुनावताका मुइज्जुले भारत विरोधी अभियान चलाएका थिए। अहिले पनि उनको दल पिपुल्स नेशनल कंग्रेस (पीएनसी)ले यही नारा लगाएको छ । तर हाल संसद्मो राष्ट्रपतिको मुइज्जुको बहुमत छैन। बहुमत नहुँदा उनले कानून निर्माण अफ्ठ्यारो भोगिरहेका छन् । हाल मजलिस्मामा विपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टी ४१ सिटसहित ठूलो दल हो।

यो निर्वाचनमा माल्दिभ्सका २ लाख ८५ हजार मतदाताले मतदान गर्दैछन् भने सोमबारसम्म परिणाम आइसक्ने अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले जनाएका छन्।

स–साना टापुहरू मिलेर बनेको देश हो, माल्दिभ्स। मुलतः माल्दिभ्स दक्षिण एसियाको सबैभन्दा महँगो गन्तव्यकोरुपमा चिनिन्छ। तर यहाँको राजनीति पनि कम रोचक छैन । ४५ वर्षीय मुइज्जु गत सेप्टेम्बरमा चीन समर्थक पूर्वराष्ट्रपति अब्दुल्ला यामिनको प्रोक्सीकोरुपमा विजयी भए। उनले त्यसयता निरन्तर चीन समर्थक भएर प्रस्तुत भइरहेका छन्। जनवरीमा उनले बेइजिङको भ्रमण गरेका थिए।

माल्दिभ्सको इतिहासमै उनी त्यस्ता राष्ट्रपति बने, जो राष्ट्रपति बनेपछि भारतकोभन्दा पहिले बेइजिङको भ्रमण गरेर चीनसँगका सम्झौताहरुलाई अघि बढाए। उनको यो कदमको प्रभाव जनतामा कस्तो रहनेछ भनेर आजको निर्वाचनले परीक्षण गर्नेछ।

यसपटकको निर्वाचनमा भारतले मुइज्जुविरुद्ध माल्दिभियन डेमोक्रेटिक पार्टीप्रति सद्भाव राखेको छ। मुइज्जुले भारतीय सेना फिर्ता पठाउने घोषणा गरेका कारण पनि भारत मुइज्जुप्रति रुष्ट छ।

यो निर्वाचनमा एउटै दलले बहुमत हासिल गर्ने सम्भावना भने छैन। विभाजनका कारण कुनै पनि दलले बहुमत हासिल गर्ने अवस्था नरहेको समाचार संस्थाहरुले जनाएका छन्।